– निशा तामाङ
नेपालमा लैङ्गिक असमानताको कुरा उठ्दा ‘आधा आकाश र आधा धर्ती’ अर्थात ‘एक रथका दुई पांग्रा’ भनेर महिलाहरूलाई चित्त बुझाउने गरिन्छ । यो संस्कार विश्वका अन्य विकसित मुलुकहरूमा नभएपनि विकाशोन्मुख देशहरूमा अवश्य पनि होला भन्न सकिन्छ । पुरुष प्रधान समाजमा महिलाहरूको अवस्था पिछडिएको नै हुन्छ । शिक्षाको सवालमा होस वा व्यवसायको सवालमा नै किन नहोस पुरुषहरूको तुलनामा महिलाहरू पछाडि परेकै हुन्छन् । यसमा कारक तत्व पुरुषहरू नै हुन् भनेर दावा गर्न सकिन्छ ।
व्यवसायिक क्षेत्रमा क्रियाशील महिलाहरू जुनसुकै व्यवसायमा पनि सफल भएकै पाइन्छन् । कुनैपनि पुरुष भन्दा कमजोर रूपमा महिलाहरू चित्रित हुन चाहदैँनन् भन्ने कुरा व्यवहारिक रूपमै पुष्टि भइसकेको छ । यहाँ मैले नेपालको पत्रकारिता क्षेत्रमा महिला सहभागिताबारे चर्चा गर्न प्रयास गरेको छु । नेपाली पत्रकारिताको इतिहास त्यति लामो छैन, तथापि नेपालको पत्रकारितामा महिलाहरूको सहभागिताको अवस्थालाई हेर्ने हो भने पत्रकारिता भर्खरै सुरु भएको जस्तो लाग्दछ । । विसं २००७ सालमा प्रजातन्त्रको आगमन भएसंगै नेपालमा पत्रकारिताको पनि प्रारम्भ भएको पाइन्छ । तत्कालीन नेपाली समाजमा पत्रकारिता भन्दा बितिकै महिलाहरूले गर्ने पेशा नै होइन भन्ने जस्तो अवस्था रहेको पाइन्छ । नेपाली पत्रकारिता विसं २०७५ सम्म आइपुग्दा पत्रकारितामा महिला सहभागिता बढ्दै गएको भएपनि पुरुषहरूको अनुपातमा महिला सहभागिता सन्तोषजनक छैन ।
नेपाली पत्रकारितामा महिला पत्रकारहरूको इतिहासलाई हेर्ने हो भने पत्रकारितामा महिलाको आगमन विसं २००८ मा भएको पाइन्छ । विसं २००८ सालमै प्रकाशित ‘महिला’ मासिक पत्रिकाको प्रकाशनसंगै पत्रकारिता क्षेत्रमा महिला सहभागिताले आधा आकाश आधा धर्तीको इज्ज्त धानेको पाइन्छ । सहाना प्रधान र कामाक्षा देवी तथा प्रियम्वदा शर्मा उक्त मासिक पत्रिकाको सम्पादक रहनुभएको थियो । पहिलो पटक प्रकाशित सो मासिक पत्रिकाका सम्पादन मण्डलमा व्यावसायिक पत्रकार नहुँदा र धेरैजसो राजनीतिमै अल्मलिनु परेका कारण ‘महिला’ मासिक पत्रिकाले निरन्तरता पाउन सकेन । सो पहिलो महिला पत्रिकाले निरन्तरता पाउन नसक्नुकै कारण नेपालको पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता पनि निकै पछाडि परेको बुझ्न सकिन्छ । हालसम्म पनि त्यो अभाव कायमै देखिन्छ ।
नेपाल पत्रकार महासंघको तथ्यांक अनुसार देशभर कार्यरत १३ हजार ५० जना पत्रकारमध्ये दुई हजार ३ सय ५४ जना मात्रै महिला छन् । सञ्चार संस्थाको नेतृत्व तहमा महिलाको सहभागिता अत्यन्तै न्यून छ । पछिल्लो समय नेपालका सञ्चार क्षेत्रमा महिलाको आकर्षण बढेको भएपनि सञ्चार गृहमा महिलालाई दिने जिम्मेवारी, कार्यस्थलको वातावरण, शारीरिक र पेशागत सुरक्षा आदिका कारणले गर्दा पनि पत्रकारिता क्षेत्रमा महिलाहरूको आकर्षण देखिदैन । कुनैपनि पेशामा आकर्षण सबैभन्दा महन्वपूर्ण पक्ष हो । जिम्मेवारी पाएपछि महिलाहरू कुनैपनि क्षेत्रमा पछि परेको पाइदैन । राज्य सञ्चालन गर्नेदेखि आकाशमा जहाज उडाउनेसम्मको हैसियत महिलाहरूले प्रदर्शन गरिसकेका छन् । शिक्षण पेशा, चिकित्सा पेशा, बैंकिङ क्षेत्र, उद्योग व्यवसाय, राजनीति, वकालत लगायत कुनैपनि क्षेत्रमा प्रवेश गरेका महिलाहरू आफ्नो काममा सक्षम साबित भएका छन् । पत्रकारिता क्षेत्रमा पनि महिलाले आफ्नो क्षमता प्रदर्शन गरेकै छन् । महिलाहरूलाई कुनैपनि काम गर्ने ठाँउमा सबैभन्दा महत्वपूर्ण पक्ष जिम्मेवारी र पेशागत एंव शारीरिक सुरक्षाको प्रत्याभूति नै रहन्छ । त्यसपछि मात्र जीविकोपार्जनको सवाल आउँछ । अन्यथा महिलाहरू सबै क्षेत्रमा प्रतिस्पर्धी भए झैं पत्रकारिता क्षेत्रमा पनि सफल हुन नसक्ने कुनै कारण देखिदैन ।
नेपालका सञ्चारमाध्यमहरू नै आर्थिक पक्ष सुदृढ हुन सकेको पाइँदैन । जुन देशमा उत्पादनशील उद्योगहरू न्यून संख्यामा छन्, त्यहाँ विज्ञापनको अभाव हुनु स्वाभाविक हो । पत्रकारिताको आयश्रोत भनेकै विज्ञापन हो । पत्रिकामा विज्ञापन बढाउन सकिएन भने पत्रिका सञ्चालन पनि हुन सक्दैन । पत्रकारिता क्षेत्रको आर्थिक पक्ष सबल बनाउन विज्ञापन नै महत्वपूर्ण स्रोत हो । राज्यले यसतर्फ ध्यान पु¥याउन नसक्दा नेपालको पत्रकारितामा पत्रकारहरू असुरक्षित भइरहेका छन् । त्यसमा पनि महिलाहरूको अवस्था झनै दयनिय देखिन्छ । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । यसमा पनि सम्बन्धित सञ्चार माध्यमको भन्दा राज्यको नीति गलत हुनु नै कारण देखिन्छ । जसका कारण सञ्चार क्षेत्रमा स्थापित महिलाहरूसमेत यस पेशाबाट पलायन भइरहेका पाइन्छन् ।
नेपाल पत्रकार महासङ्घको तथ्याङ्क अनुसार प्रदेश १ मा २८७ जना महिला पत्रकार छन् । त्यस्तै, प्रदेश २ मा १११, प्रदेश ३ मा २८०, प्रदेश ४ मा १८६ महिला पत्रकार रहेका छन् । त्यसैगरी, प्रदेश ५ मा ३३०, प्रदेश ६ मा ११३ र प्रदेश ७ मा १२० जना पत्रकार छन् ।
नेपाली पत्रकारितामा महिला पत्रकारको उपस्थिति पुरुष पत्रकारको तुलनामा अत्यन्त न्युन छ । लैङ्गिक असमानता र पत्रकार महिलाप्रतिको दृष्टिकोणका कारण यस्तो समस्या रहेको बुझ्न कठिन छैन । यस क्षेत्रलाई नै पेशा बनाउंछु भन्ने मानसिकता सहित प्रवेश गरेका महिला पत्रकारलाई टिकाउन थुप्रै समस्या छन् । एक त महिला पत्रकारको दोहोरो जिम्मेवारी निर्वाह गर्नु पर्ने आवश्यकता, त्यस माथि महिला पत्रकारलाई घरदेखि समाजसम्मले हेर्ने दृष्टिकोणकै कारण पनि यस क्षेत्रमा महिला पत्रकारहरू व्यावसायिक रूपमा टिक्न सकिरहेको अवस्था छैन । राज्यले महिलाहरूलाई यो क्षेत्रमा कसरी आकर्षित गराउने र कसरी सुरक्षित पनि गराउने भन्ने सवालमा ध्यान पु¥याउन जरुरी छ । [email protected]


















