खेलकुद विश्वविद्यालय स्थापना गरिने

85

काठमाडौं/सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना अघि सारेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेल प्रशिक्षक, कोचलगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना बनाएको जानकारी दिएका हुन् । आज मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले सो विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको पनि जानकारी दिनु भयो ।

मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि ३ वर्ष भित्र काठमाडौं उपत्यका भित्र अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाएको छ । जसका लागि जग्गा प्राप्तीको कामलाई अघि बढाएको मन्त्री विश्वकर्माको भनाई छ । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तिको कामलाई अघि बढाएको छ । मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय गरिएको जानकारी दिनु भयो ।

सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई अघि बढाएको दावी पनि गरेको छ । बैठकमा बोल्दै समितिका सदस्यहरुले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएको थियो । समितिका सदस्य जीवनराज श्रेष्ठले बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन सरकारसँग माग गरे । समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनौट निष्पक्ष ढंगले गर्न सरकारलाई सचेत गराए । उनले प्रतिभाशाली खेलाडीहरुलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदको क्षेत्रमा फड्को मार्ने पनि स्पष्ट पारे । विश्वकर्माले सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here