काठमाडौँ — मंगलबार राजधानीको टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समारोह आयोजना गरिएको छ ।
६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित भएका थिए । समारोहमा उपप्रधानमन्त्री, मन्त्रिहरु, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।
समारोहमा सेना, प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटलगायतका संघ संस्थाबाट मार्चपास गरिएको थियो । उक्त समारोहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो । उक्त अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । 
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।























