एजेन्सी/इङ्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा जर्मन क्लब साल्केलाई ३–२ गोलले हराएको छ । साल्केको घरेलु मैदानमा बुधबार राति भएको रोचक खेलमा सिटी अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो । तर पनि सिटीले अन्मिमा दुई गोल थपेको थियो । १८औं मिनेटमा सिटीका सर्जियो एग्युरोले पहिलो गोल गरेका थिए। ३८औं मिनेटमा घरेलु टोली साल्केका लागि नाबिल बेन्टालेबले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई बेन्टालेबले दोस्रो गोल गरेका थिए । खेलको ६८औं मिनेटमा दोहोरो पहेँलो (रातो) कार्ड पाएपछि सिटीका रक्षक निकोलस ओटामेन्डी बाहिरिएपछि सिटीको लेरोय सानेले ८५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेका थिए । खेलको अन्तिम मिनेटमा रहिम स्टरलिङ उत्कृष्ट गोल गर्दै सिटीका लागि जिताएका थिए । दोस्रो लेग सिटीको मैदानमा आगामी मार्च १३ तारिखमा हुने भएको छ ।


















