नेकपाको साङ्गठनिक एकताका लागि गठित कार्यदलको सुझाव पेश

87

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आआफ्ना विचार राख्नुभएको थियो ।

गत पुस १२ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले दिएको सुझावमाथि छलफल शुरु गरिएको जनाउनुभयो ।

यसैगरी बैठकमा कार्यदलले पूर्ण प्रतिवेदन बुझाउनका लागि थप एक हप्ता समयमा माग गरेको छ । कार्यदलका सदस्य योगेश भट्टराईले पार्टी एकता ढिलाइ भइरहेकाले छिटो सम्पन्न गर्नका लागि आफूहरुले एक हप्ताको समय माग गरेको जनाउनुभयो ।

‘हामीले विभिन्न कारणले प्रतिवेदन दिन सकेनौँ’, उहाँले भन्नुभयो, ‘अब एक हप्ताको समय हामी सबैले माग गरेका छौँ । एक हप्ताको समयमा कार्यदललाई दिइएमा हामीलाई दिइएका सबै विषय जिम्मेवारीपूर्वक सम्पन्न गरेर सचिवालयलाई प्रतिवेदन बुझाउँछौँ ।’ सचिवालयको अर्को बैठक शुक्रबार बस्ने भएको छ ।

गत जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन ।

स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने जनाए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here