सिराहा / वर्तमान संविधान जन चाहना विपरित, दलाल, तस्कर र पुजिपति वर्गको पक्षमा रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एक र दुईका इन्चार्ज हरीभक्त कडेंल प्रतिकले जनताले चाहेको जस्तो नयाँ नेपाल निर्माण गर्नका लागि क्रान्तिको अर्को प्रकृयामा जुट्नुपर्ने जनाएका छन् ।
क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी रुपमा सञ्चालन गरेको मेची महाकाली जनजागरण अभियानको क्रममा हिजो (सोमबार) सिराहाको पुरानो चोहर्वा चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले त्यस्तो जनाएका हुन् ।
जनताको न्यायपूर्ण क्रान्तिको प्रकृया सफलतातर्फ उन्मुख भएको बेला बाहिरी शक्ति र आन्तरिक प्रतिकृयावादी शक्तिले सड्यन्त्रपूर्वक जनताको परिवर्तनको चाहनामा कुठाराघात गरेको जनाउँदै उनले संविधान सभाको निर्वाचनलाई नौटंकी र त्यसबाट बनेको संविधान जनधाती व्यवस्थाको कबजको रुपमा व्याख्या गरे । उनले भने–‘कथित वामहरुको सरकार र वर्तमान संविधान जन चाहना अनुसार छैन, यो परिवर्तनगामी जनतामाथिको धोका हो । यसले यो संविधानले जनअधिकार हनन गरेको छ, यो आम नेपालीको पक्षमा छैन ।’
उनले पार्टी भित्रका बेइमान नेताहरुले उत्कर्षमा पुगेको न्यायपूण आन्दोलनलाई आफ्नो स्वार्थका अवसान बनाएको भन्दै आक्रोश व्यक्त गरें ।
उनले ओलीको सरकार दलालहरुको संरक्षक बनेको भन्दै कडा शब्दमा विरोध गरे । उनले मुलुकमा निजिकरणको नाममा लुटतन्त्र चलेको भन्दै यतिबेला माफीया, तस्कर र भ्रष्टहरु सल्बलाएको जनाए ।
मुलुकका अधिकांश कृषकहरु, मजदुरहरु समस्यामा रहेको भन्दै उनले चौतर्फि समस्याको घेराबन्दिमा रहेको व्यवस्था गणतन्त्र हुन नसक्ने तर्क अघि सारे । उनले भने–‘यो व्यवस्था सामन्तवादी व्यवस्था नै हो, यसमा वर्जुवा गणतान्त्रीक व्यवस्थामा जत्तिको पनि सुधार भएको छैन, यसको विकल्प खोज्नु अनिर्वाय छ ।’
हिजो साँझ करिब पाँच बजेबाट शुरु भएको उक्त कोणसभाको कार्यक्रमको सञ्चालन क्रान्तिकारी माओवादीका प्रदेश सदस्य शम्भु शाहले गरेका थिए । कार्यक्रममा करिब एकसय बढि मानिसहरुको सहभागिता रहेको जनाइएको छ ।


















