नेपाली सेनाको उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समुद्घाटन

246

नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्च स्तरीय सुरक्षा (Advanced Training on National Security)  तालिमको आज बुधबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले एक समारोहका बीच प्रथम प्रवचन गर्नु भई तालिमको शुभारम्भ गर्नु भएको छ ।

उक्त तालिमको समुद्घाटन समारोहमा मन्तव्य राख्नु हुँदै प्रधानसेनापति थापाले यस तालिमले राष्ट्रिय सुरक्षा सम्बन्धी उत्पन्न हुने चुनौतीहरुलाई निराकरण गर्न मद्धत पुग्नुको साथै सरकारी सुरक्षा संयन्त्रबीच आपसी सहयोग एवं समन्वय हुन अपरिहार्य रहेको बताउनु भएको थियो । सोहि क्रममा मन्तव्य राख्दै रक्षा मन्त्रलायका सह सचिव ऋषीराज भण्डारीले विश्वमा परिवर्तित सुरक्षा चुनौतिहरुबाट कुनैपनि राष्ट्र अलग रहन नसकेको अवस्थामा यस तालिमले राष्ट्रिय सुरक्षाको बारेमा जानकारी प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाउनुभयो ।

कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । मिति २०७५ फाल्गुन २९ गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जना सहभागी हुनुहुन्छ भने हालसम्म उक्त तालिम ७० जना अधिकृतहरुले गरिसक्नु भएको छ ।

उक्त समुद्घाटन समारोहमा नेपाल सरकार तथा अन्य सुरक्षा अङ्गका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here