अलपत्र ऐतिहासिक भोपुर दरबार

715

बझाङ, तत्कालिन बझाङी राजाको ऐतिहासिक भोपुर दरबार संरक्षणको अभाबमा अलपत्र परेको छ । केही बर्ष अघि सम्म नेपाली सेनाले प्रयोग गर्दै आएको उक्त दरबार छोडेर सेनाको टुकडी नयाँ भवनमा सरे पछि दरवार अलपत्र भएको छ ।

बझाङको ऐतिहासिक धरोहर एवं पर्यटकिय स्थलको रुपमा रहेको दरबार बेवारिसे बनेपछि स्थानीयले संरक्षणप्रति चिन्ता व्यक्त गर्न थालेका छन । बि.स. १९९० सालमा बझाङी राजा देबी जंग बहादुर सिंहले भारतको कलकत्ताबाट ईन्जिनियर ल्याएर निर्माण गरेको भोपुर दरबार निर्माण गरेका थिए । चैनपुका स्थानीय बिष्णुभक्त जोशी (शास्त्रीले) भन्नुभयो बि.स. १९९० सालमा ठूलो भुकम्प जादा तत्कालिन बझाङी राजा देबीजंग बहादुर सिंहले १९९०मा निर्माण सुरु गरि १९९६ सालमा भुकम्प प्रतिरोधी दरबार निर्माण गरेको थिए । उहाँले भन्नुभयो तत्काल जिर्णोदार गर्न सकिएन भने यसको अस्तित्व नै संकटमा पर्न सक्छ । दिनप्रतिदिन दरबार नबन्दै गएकाले यसको संरक्षण गर्न नसकेको खण्डमा केही वर्ष मै भत्किन पनि सक्ने समेत जोशीको भनाई छ ।

२०५८ सालमा सुरक्षाको कारण देखाउदै सेनाको व्यारेक हेमन्तवाडा सरेपछि दरबार बेवारिसे जस्तै बनेको थियो । सशस्त्र द्धन्दका बेला २०६० सालमा तत्कालिन बिद्रोही माओवादीले दरबारमा आगजनी समेत गरेका पछि जिर्ण बन्दै गएको थियो । यद्यपी स्थानीयले आगो नियन्त्रण गरेका कारण एउटा कोठा बाहेक अन्यत्र दरबारमा क्षति हुन भने पाएको थिएन । आगलागीबाट क्षती भएको भाग समेत अहिले उस्तै रहेको छ । दरबारको संरक्षणमा सरोकारबाला निकायले चासो नदिदा यसको अस्थित्व दिन प्रतिदिन घट्दै गएको छ भने दरबार जिर्ण बन्दै गएको छ । दरबारको भित्ताहरु चर्किनुका साथै दरबारको छाना समेत चुहिने अबस्थामा पुगेका छन् । दरबारको भित्रजाने खुटकिला समेत उप्केका छन् भने भित्रको तलाहरुमा समेत प्वाल परेका छन् । ऐतिहासिक पुरात्विक बास्तुकला समेत रहेको दरबार पर्यटकिय हिसाबले महत्वपूर्ण मानिन्छ । नेपाली सेनाले दरबारमा बस्न छोडेपछि दरबारको संरक्षण समेत हुन सकेको छैन् ।

२०६३ सालमा शान्ती सम्झौता भए पछि नेपाली सेनाको एउटा टुकडी पुन भोपुरमा बस्न थालेको छ । दरबार जिर्ण भैसकेका कारण त्यहा“ बस्न नमिल्ने भए पछि सेना नया“ भवनमा बस्न थालेको हो । भोपुरका स्थानीय रमेश केसीले भन्नुभयो दरबार भत्किनै लागेको छ , यस लाई मर्मत सम्भार गर्न स्थानीय तहले ध्यान दिनु पर्ने आबस्यक छ ।

बझाङी राजाको पूख्यौली दरबार रहेको भोपुर दरबारको बाहिर जिल्लाबाट बझाङ आउनेहरुले समेत दरबारको संरक्षण नभएको प्रति चिन्ता जाहेर गर्ने गरेका छन । कैलालीका एक जना पर्यटनकर्मी रमणचन्द्र श्रेष्ठका अनुसार बेलैमा यस्ता सम्पदाको संरक्षण र प्रर्बद्धन हुन सकेन भने भोलीका दिनमा पछुताउनुको विकल्प हुने छैन । उहाँले यसको जिर्णोदार हुन सके जिल्लाको पर्यटन प्रर्बद्धनमा पनि टेवा पुग्ने बताउनुभयो ।

दरबारको जिर्णोदार गरेर बझाङको परम्परागत जिवनशैली र संस्कृतीहरु झल्काउने खालको संग्राहालयको रुपमा विकास गरिनु पर्ने यहाँका वासिन्दाको माग रहेको छ । बझाङको परम्परागत भेषभुषा, कला संस्कृती समेत लोप हुदै जान थालेको छ । पर्यटन सुचना समुह बझाङका अध्यक्ष निलगगन रोशन सिंहका अनुसार दरबारको समेत संरक्षण हुने र कला संस्कृति पनि बचाउने हिसाबले संग्राहलयको रुपमा विकास गर्न सके राम्रो काम हुने धारण राख्नुभयो । उहाँले संग्राहालय निर्माण हुन सके भोपुर दरबार राम्रो पर्यटकिय स्थलको रुपमा विकास हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here