लक्ष्मी सापकोटा
काठमाडौं । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सुदूरपश्चिम प्रदेशको योगदान ७ प्रतिशत रहेको छ । आव २०७७/७८ मा राष्ट्रिय उत्पादनमा यस प्रदेशको योगदान ७ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा पनि त्यति नै रहने अनुमान छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आव २०७८/७९ मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा तीन अर्ब ३९ अर्ब रुपियाँ पुग्नेछ, जुन गत वर्ष तीन खर्ब एक अर्ब थियो । आव २०७७/७८ मा सुदूरपश्चिमको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा बढेर ४ दशमलव ९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
छैटौँ स्थानमा आव २०७८/७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा (उपभोक्ताको मूल्यमा) ४८ खर्ब ५२ अर्ब रुपियाँ हुने अनुमान गरिएकामा सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन छैटौँ स्थानमा छ । चालू आर्थिक वर्ष सबैभन्दा बढी योगदान बागमती प्रदेशको १७ खर्ब ९१ अर्ब रुपियाँ हुने अनुमान गरिएको छ । यो राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको ३६ दशमलब नौ प्रतिशत हो ।
चालू आर्थिक वर्षमा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको छ, जुन एक खर्ब ९८ अर्ब रुपियाँ अर्थात ४ दशमलव १ प्रतिशत हुने अनुमान गरिएको छ ।
आर्थिक वृद्धिदर ४.९ प्रतिशत
आव २०७८/७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर (उपभोक्ता मूल्यमा) ५ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएकामा सुदूरपश्चिम प्रदेशको वृद्धिदर ४ दशमलव ९ प्रतिशत रहने अनुमान छ ।चालू आर्थिक वर्ष बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६ दशमलव ७ प्रतिशत र मधेश प्रदेशको सबैभन्दा कम ४ दशमलव ८ प्रतिशत रहने अनुमान गरिएको छ ।
आव २०७७/७८ मा बागमती प्रदेशको वृद्धिदर सबैभन्दा बढी ४ दशमलव ६ प्रतिशत तथा गण्डकी प्रदेहमा सबैभन्दा कम ३ दशमलव ७ प्रतिशत थियो भने कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत र सुुदूरपश्चिमको वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको थियो ।
कृषि क्षेत्रको योगदान बढी
सुदूरपश्चिमको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३३.५ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्क धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
सुुदूरपश्चिम प्रदेशको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको १४ दशमलव ६ प्रतिशत र सेवा क्षेत्रको ५१ दशमलव ८ प्रतिशत योगदान रहने अनुमान गरिएको छ ।सोही प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा कम योगदान प्रशासकीय तथा सहयोग सेवासम्बन्धी कार्यहरूको रहेको छ, जुन ० दशमलव १ प्रतिशत मात्र छ ।
बाली लगाइएको क्षेत्रफल घट्यो
आव २०७८/७९ मा सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीको उत्पादन १२ लाख छ हजार ३१९ मेट्रिक टन, तरकारी तथा बागवानी दुई लाख ४५ हजार ९२९ मेट्रिक टन र फलफूल तथा मसलाजन्य एक लाख ६७ हजार २४१ मेट्रिक टन उत्पादन भएको छ । सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ० दशमलव ७ प्रतिशतले ह्रास आएको छ ।
कैलालीमा धेरै खेती
समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ३७ दशमलव ६५ प्रतिशत र सबैभन्दा कम बाजुरा तीन दशमलव ३५ प्रतिशत रहेको छ ।
तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफलमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४० दशमलव ८१ र बाजुरामा सबैभन्दा कम २ दशमलब ०२ प्रतिशत रहेको छ । यसैगरी फलफूल तथा मसलाजन्य बालीले ढोकेको क्षेत्रफलमा कैलाली जिल्ला सबैभन्दा बढी ७१ प्रतिशत ९३ प्रतिशत र अछाम जिल्ला सबैभन्दा कम एक दशमलव १० प्रतिशत रहेको छ ।
घरजग्गा रजिस्ट्रेसन घट्यो
सुदूरपश्चिम प्रदेशमा समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसन सङ्ख्या १० दशमलव ८८ प्रतिशतले घटेको छ । गत वर्ष सोही अवधिमा सो सङ्ख्या १० दशमलव ४७ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व सङ्कलन ५८ दशमलव ५८ प्रतिशतले वृद्धि भई ७४ करोड ७९ लाख ७० हजार भएको छ । गत वर्ष सोही अवधिमा राजस्व सङ्कलन ३६ दशमलव ५० प्रतिशतले वृद्धि भएको थियो । गाेरखापत्रबाट


















