अष्ट्रेलियाको सिड्नीमा नेप्लीज अस्ट्रेलियन बहुसंस्कृति एकता दिवस मनाइएको छ।
नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाको आयोजनामा भएको कार्यक्रममा अस्ट्रेलियाका विभिन्न राजनीतिक दलका नेताको समेत महत्वपूर्ण उपस्थिति थियो।
एनआरएन एनएसडब्लु राज्य समिति तथा अस्ट्रेलियन सरकारको सहयोगमा भएको कार्यक्रममा लिबरलका प्रभावशाली नेता मार्क कुरी तथा लेबरका एनएसडब्लुका प्रतिपक्ष नेता क्रिस मिन्स र पारामाटा क्षेत्रका संघीय सांसद डा एन्ड्रयू चाल्टनलगायतको उपस्थिति थियो।उनीहरूले अस्ट्रेलियामा छोटो समयमा तिब्र बिस्तार भइरहेको नेपाली समुदायको उपस्थिति महत्वपूर्ण बन्दै आएको जिकिर गरे।
पारामाटाका सांसद चाल्टनले नेपाली कला संस्कृतिलाई नजिकबाट नियाल्न पाएकोमा खुसी प्रकट गरे। अस्ट्रेलियाका लागि कार्यवाहक राजदूत कुल बहादुर मगरले अस्ट्रेलियामा आएर पनि नेपाली समुदायले आफ्नो कला संस्कृतिलाई जर्गेना गरिरहेकोमा आफू निकै प्रभावित भएको बताए। उनले यस्ता कार्यक्रमले मुलुकलाई पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे।
अस्ट्रेलिया जस्तो बुहसांस्कृतिक मुलकमा बसोबास गर्दै आएका नेपालीले यहाँका अन्य समुदायसँग एकअर्काको साझा मूल्य र मान्यतालाई सम्मान तथा साटासाट गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने एनएसडब्लुका महाबाणिज्यदूत दीपक खड्काले जनाए। नेपाली कला संस्कृतिका यस्ता खाले प्रस्तूति र सहभागिताले नयाँ पुस्तालाई पनि जागरूक बनाउनुका साथै बहुसांस्कृतीक समुदायमा अलग पहिचान बनाउन मद्धत पुग्ने खड्काले जनाए।
विविध संस्कृतिको धनी नेपाली समुदायले अस्ट्रेलियन भूमिमा अन्य समुदायले नजिकबाट नियाल्न पाउन् भन्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेतले जनाइन्।
‘नेपालमा छरिएर रहेका विविध सांस्कृतिक कार्यक्रमसँगै अन्य मुलुक भारत, चीन, ब्राजिल र कर्मथलो अस्ट्रेलियाका आदिवासीको विविध कला संस्कृतीसँग जोड्ने प्रयासस्वरुप हामीले यो कार्यक्रम आयोजना गरेका हौ’, उनले भनिन्।
सिडनीको म्यारिकभिल टाउन हलमा सम्पन्न कार्यक्रममा करिब १५ वटा विविध नेपाली कला संस्कृति झल्काउने नृत्य तथा नाटक प्रस्तूत गरिएको थियो। यस्तै कार्यक्रममा जापान, चीन, श्रीलंका र ब्राजिललगायत मुलुकका विविध सांस्कृतिक कार्यक्रम समेत समेटिएको थियो।
कार्यक्रममा नेपाली कला संस्कृति झल्काउने तमु, नेवार जातिकाे लाखे, थकाली, किराँत, मगर, लिम्बुलगायतको नेपाली पहिचान झल्कने नृत्य समेटिएको थियो।
बहुसांस्कृतिक समुदायमा अन्य समुदायको कला, संस्कृति बुझ्ने मौका पाउनुका साथै अन्य समुदायसँग सम्वन्ध विस्तारको सम्भावना बढ्ने भन्दै गायक महेश प्रसाई (म्याक्स) ले यसले हाम्रो समाजको दायरा फराकिलो हुने विश्वास लिएको जनाए।
एनआरएनका पूर्व अध्यक्ष गोवा कटुवालले भानु जयन्ती, तीज कार्यक्रम र प्रवासी पाइलाजस्ता नेपाली कला संस्कृतिको पहिचानमुलक कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै संस्थाले आफूलाई एक कदम अगाडि सारेर बहुसांस्कृतिक कार्यक्रम गर्नु आफैंमा गौरवको विषय भएको जनाए ।
कार्यक्रममा नेपाली समुदायका अगुवा इन्द्रा वन, नारायण प्रधान, रमेश पाण्डे, एनआरएनका उपाध्यक्ष देब गुरूङलगायतको उपस्थिति थियो। कार्यक्रममा नेपाली भाषा तथा कला संस्कृतिको जर्गेना गर्न महत्वपूर्ण योगदान गरेवापत नेपाली संचारकर्मीहरू राजु मानन्धर, कृष्ण तिवारी, ऋषी आचार्य, हेमन्त काफ्लेलगायतलाई सम्मान गरिएको थियो।


















