थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै

59

काठले निर्माण गरिएका थारु बस्तीका अधिकांश घर माटोले लिपपोत गरिएका हुन्छन् । घर छेउमै गाईभैँसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन् । तर पछिल्लो समय डगौरा, चौधरी थारु र रानाथारु समुदायको बस्ती यस्ता घर विस्थापित हुँदै गएका छन् ।

धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडीका मदन रानाले बताउनुभयो । “घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो । नयाँ पुस्ताले गाई भैँसी पाल्दैनन्”, उहाँले भन्नुभयो, “सहजै काठ पाइँदैन । धेरैजसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन् ।”

उहाँका अनुसार विगतमा एउटै परिवारमा सय÷डेढ सय जनासम्म बसोबास गर्थे । तर अहिले १०÷१५ जनाको परिवार पनि भेटिँदैन । “विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन । बिहे गरेपछि छुट्टिएर बसिहाल्छन्”, उहाँले भन्नुभयो । रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको भीमदत्त नगरपालिकाकी लक्ष्मी डगौराले बताउनुभयो ।

“अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यति मात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँ भेट्न मुस्किल पर्छ”, उहाँले भन्नुभयो, “सहजै काठ, टायल पनि पाइँदैन, विगतभन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैको रोजाइँमा छ ।” कच्ची घर बर्सेनि लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्नेलगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएका छन् ।

“अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गरिन्थ्यो”, बेलौरी नगरपालिका अभिषेक रानाले भन्नुभयो, “जनसङ्ख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन् ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here