काठमाडौं / ताप्लेजुङको फुङिलङस्थित तारेभिरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टरका चालक क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।
ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना भएर उद्धार गर्न जानु पर्ने आदेश अनुसार हामी सुकेटार हुँदै दुर्घटनास्थल पुगेका हौँ ।
नेपाली सेनाको हेलिकप्टरबाट हामी दुर्घनास्थल डोरीको सहायताले झरेका हौँ । त्यहाँ पुग्दा शव छरपष्ट अवस्थामा थियो । हेर्ने मान्छेहरु थिए, तर कसैले शव संकलन गरेका थिएनन् । शव छरपष्ट भए पनि कसैले संकलन गरेका रहेनछन् ।
शव हामीले नै गएर संकलन गरेका हौँ । शव पहिले नै संकलन भएको भए बुधबार नै सबै शव सुकेटार विमानस्थल ल्याउन सकिने थियो ।
सबै शव हामीले गएर संकलन गरेर पोको पारेका हौँ । चारवटा शव पोको पारेर बुधबार बेलुका नै पठाउन सकियो । तर तीनवटा शव भने सकिएन ।
संकलन गरेर पोको पार्दा नै मौसम खराब भयो । त्यसपछि पनि हामीले डोकोमा बोकेर शव सुकेटारसम्म ल्याउने कोशिस गरेका थियौँ । तर बाटो अप्ठ्यारो र मौसम खराब भएका कारण सकिएन ।
शव त्यहिँ छोडेर आउने कुरा भएन ।
हामीलाई आदेश थियो–शव लिएर आउने वा शव कुरेर बस्ने । हामी तीनवटा शव कुरेर बस्यौँ । हामी ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जय सिंह थापाको नेतृत्वमा हामी २०–२१ जना रातभरि शव कुरेर बस्यौँ ।
रातभरि ठूलो हिउँ पर्यो । पानी पनि परेको थियो । हामी शवको नजिकै आगो बालेर रातभर बस्यौँ । निगालोको झ्याङको ओत पारेर बसेका थियौँ । राति हामीले चाउचाउ र चिउरा खायौँ ।
बिहान हुने बित्तिकै मौसम केहीबेर खुल्यो । हेलिकप्टर आयो, हामीले शव पठायौँ । यस किसिमको दुर्घटना र विपदको उद्धारको तालिम लिएकाले म र अर्को एकजना (तेजबहादुर घले, उनी पनि प्रतापसँगै उद्धारका लागि गएका थिए) शवसँगै डोरीमा झुण्डिएर सुकेटारसँग विमानस्थलमा आयौँ । यसरी नआएको भए, हिँडेर आउनु पर्ने थियो र हामीले तालिम लिएकाले यसरी आउन सक्यौँ ।
दुर्घटना तथा अरु विपत्तमा उद्धारमा धेरै खटिएको थिएँ तर जंगलमा रातभर हिउँ परेको ठाउँमा खुला आकाशमुनि बसेर उद्धारको काम गरेको यो पहिलोपटक हो ।
हेलिकप्टर दुर्घटनास्थलमा बस्ने अवस्था थिएन । हामी रातभर बसेर शव कुरियो । यसरी नबसेको भए जंगली जनावरले शव तितरवितर पार्ने डर हुन्थ्यो ।
चिसोमा निकै कठ्याङ्ग्रिएर बसे पनि उद्धार गर्न सकियो ।
-नेपाली सेनाको रेञ्जर रेजिमेन्टमा विगत १५ वर्षदेखि कार्यरत ३४ वर्षका प्रताप लामासहितको टोली ताप्लेजुङको सिस्नेभीरमा बुधबार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरि भएको दुर्घटनापछि उद्धारको काम गरेको हो। बाराका स्थायी बासिन्दा प्रताप लामाले विपदमा उद्धारको काम गर्दै आएका छन् । देश सञ्चार

















