आङछिरिङको व्यवसायिक नेतृत्व अब कसले सम्हाल्छ ?

252

काठमाडौं / ताप्लेजुङको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा बुधबार हेलिकप्टर दुर्घटना भएर आङछिरिङ शेर्पाको निधन भएको थियो । यसमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसमेत ७ जनाको ज्यान गएको छ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्ह्यामू गाउँपालिका–१, पाङ्बोचेको गरिब परिवार जन्मिएका आङछिरिङका तीनै जना दाजुभाइ हिमाल आरोहणमा संलग्न थिए। भारी बोक्ने, पर्यटक घुमाउने र हिमाल चढाउने सीप भएका शेर्पा दाजुभाइले आफ्नो सीप र क्षमतालाई व्यवसाय बनाउँदै २०४५ सालमा थामशेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनी खोले।

पर्वतारोहणमा थामशेर्कुले उल्लेखनीय प्रगति हासिल गरेपछि शेर्पा दाजुभाइले पर्यटन क्षेत्रसँग जोडिएका विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरे।अहिले शेर्पा परिवारको स्वामित्वमा एयरलाइन्सदेखि ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरू छन्। पछिल्लो समय सुपरमार्केट र जलविद्युत क्षेत्रमा पनि लगानी विस्तार गरेका छन्।

उनको स्वामित्वमा रहेका आन्तरिक उडान गर्ने दुई एयरलाइन्समध्ये यति एयरले सुगम क्षेत्रमा उडान गर्दै आएको छ भने तारा एयरले दुर्गममा।सन् १९९८ मा स्थापित यति एयरसँग ३ एटिआर र ७ जेटस्ट्रिम गरी ९ वटा जहाज छन्। यो एयरलाइन्स सञ्चालनले पर्यटन क्षेत्रमा उनको व्यावसायिक साख बढाएको थियो।

सन् १९९८ मा सञ्चालनमा आएको यती एयरलाइन्स नै आङछिरिङले व्यवसायिक नेतृत्व गरेको पहिलो सबैभन्दा ठूलो कम्पनी हो। सञ्चालनको २१ वर्षपछि यो नेपालको अग्रणी हवाई सेवाप्रदायक बनेको छ। लगानी कति छ भनेर यकिन गर्न गाह्रो हुने विनय शाह बताउँछन्, ‘उनको लगानी यति नै ठाउँमा छ भनेर भन्न गाह्रो छ। ५० अर्बभन्दा कम छैन।’

एयरलाइन्सदेखि ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी र होटल तथा रिसोर्टहरूमा उनको निधन पश्चात अब कसले सम्हाल्छ भन्ने चासोको विषय बनेको छ।

यति ठूलो लगानी भएको कम्पनी बाहिरबाट हेर्दा आङछिरिङले मात्र सम्हालेको देखिन्छ। तर, वास्तवमा यो कम्पनी उनको पारिवारिक स्वामित्वमा छ।आङछिरिङका तीन दाजुभाइमध्ये जेठादाजु लाक्पा सोनाम शेर्पा मात्र जीवित छन्। उनका कान्छाभाइ आङटेन्डीको हवाइ दुर्घटनामै परेर निधन भएको थियो।

जेठादाजु लाक्पा सोनाम यति एयरलाइन्सका अध्यक्ष हुन्। आङछिरिङको अनुपस्थितिमा अब यो कम्पनीको कार्यकारी भूमिका स्वाभाविक रूपले लाक्पा सोनामले सम्हाल्ने राईको अनुमान छ। यसअघि आङछिरिङ आफैंले सबै काम हेर्ने भएकाले सोनाम निष्क्रिय हुँदै गएका थिए।

यी तीन दाजुभाइका २/२ जना छोरा छन्। यसअनुसार यो व्यापारिक साम्राज्यका उत्तराधिकारी ६ जना दाजुभाइ छन्। अहिलेसम्म आङछिरिङले सम्हाल्दै आएको व्यवसाय छोराहरूको नेतृत्वमा पुगेको छैन।

आङछिरिङका दुई छोरामध्ये जेठाले यति इन्सेन्टिभ चलाइरहेका छन् भने कान्छा तारा एयरका नायब प्रबन्धनिर्देशक छन्।त्यस्तै, लाक्पा सोनामका जेठा छोरा थामाशेर्कुका प्रबन्ध निर्देशक छन् भने कान्छा यति एयरलाइन्समै प्रशासन हेर्छन्।

कान्छा भाइ आङटेन्डीका जेठा छोरा काठमाडौं उपत्यकाभरि सञ्जाल फैलिएको केके सुपरमार्ट चलाइरहेका छन्। कान्छा छोरा अध्ययनकै क्रममा छन्।शेर्पा परिवारका यी ६ भाइ उत्तराधिकारीहरू नेतृत्व विकासक्रममै रहेकाले केही समय लाक्पा सोनामले नै सबै जिम्मेवारी सम्हाल्ने राईको विश्वास छ।

आङछिरिङको अभाव भने लामो समय खट्किने कम्पनीका जानकारहरू जनाउँछन्।उनको व्यावसायिक सञ्जाल नै यस्तो किसिमको छ, स्वदेशदेखि विदेशसम्म तलदेखि माथिल्लो तहसम्म सम्बन्ध र पहुँच बनाएर राख्नुपर्छ। आङछिरिङ यसमा निपूर्ण थिए। उनले यति ठूलो साम्राज्य खडा गर्नमा उनको चौतर्फी व्यक्तिगत सम्बन्धको ठूलो हात छ।आङछिरिङको निधन पश्चात पनि यो सम्बन्ध अटुट राख्नु लाक्पा सोनाम र शेर्पा परिवारका छ जना छोराहरूको निम्ति सबैभन्दा ठूलो चुनौतीको विषय हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here