सम्पदा लिम्बु
सदियौँदेखि उभिरहेको हिमाल
न आकाश छेडने चाहाना
न धर्तीमा बिलिन हुने
चुपचाप शान्त आफ्नै अडानमा अडिग छ
त्यसैले त मलाई हिमाल बन्नु छ ।
घामको रापले पोल्दा
असिनाको बर्सादले कुटदा
फेरि पनि उस्तै भाव
चुपचाप शान्त आफ्नै अडानमा अडिग छ
त्यसैले त मलाई हिमाल बन्नु छ ।
डगमगाउन खोज्ने हावा हुन्डरी सङ्ग
तर्साउन खोज्ने कालो रात सङ्ग
अनि
सुनौलो दिन सङ्ग
उस्तै छ भाव
चुपचाप शान्त आफ्नै अडानमा अडिग छ
त्यसैले त मलाई हिमाल बन्नु छ ।
उ हिमाल हो
त्यसैले त हिमालसँग अगाध प्रेम छ
किनकि
हिमाल चुपचाप शान्त आफ्नै अडानमा अडिग छ
त्यसैले त मलाई हिमाल बन्नु छ ।।


















