ओली सरकारको गुठी विधेयकमा देखिएको बदनियतबारे

107

-हुकुमबहादुर सिंह

ओली सरकारले ल्याएको गुठी विधेयकलाई लिएर अहिले नेपाली जनमत खासगरी उपत्यकाका नेवार समुदाय उक्त विधेयकलाई लिएर सडकमा त्यसको विरोधमा उत्रिएका छन् । ओली सरकारको दुईतिहाइको घमण्ड अहिले आफ्नै पार्टीभित्रका सांसदबाटै विरोध र विद्रोहका स्वर सुनिन थालेका छन् । हुन त ओली सरकारले ल्याएको गुठी विधेयकमा के छ भन्ने गहन अध्ययन र त्यसमाथि वैचारिक बहस, विश्लेषण र बौद्धिक विमर्श खासै गरिएको छैन तर पनि ओली सरकारले ल्याएको गुठी विधेयकको चर्को विरोधमात्रै भएको छैन, यसलाई लिएर विभिन्न राजनीतिक दलहरूसित सम्बन्धित जातीय मोर्चाहरू सडकमा उत्रिएका छन् । के चाहीं स्पष्ट हो भने नेपालमा विद्यमान सबै गुठीहरूलाई एउटै बास्केटमा राखेर हेर्न मिल्दैन । कैयौं गुठीहरू गुठी संस्थान ऐनअन्तर्गत सञ्चालित छन् भने केही जस्तै– पशुपति, स्वर्गद्वारीआदि जस्ता गुठीहरू फरक प्रकृतिका छन् । केही गुठीहरू छन् जो सामूहिक परिचयसित जोडिएका छन् र बा“की अन्य केही सामन्ती संस्कृतिका बलिया आधारका रूपमा स्थापित पनि छन् । सामन्तवादलाई पक्षपोषण गर्ने शक्ति तथा व्यक्तिहरू धमिलो पानीमा माछा मार्न सकिन्छ कि भनेर पनि अहिले यो आन्दोलनमा सक्रियतापूर्वक लागेका पनि देखिदै छन् । खासमा गुठीको राजनीतिक अर्थशास्त्रीय पक्षबाट यसको गहन अध्ययन, विश्लेषण आदि त्यति गहिरो गरी गरिएकै छैन । यस्तो कसरतमा ओली सरकारले आफ्नो दिमाग लगाउने काम पनि गर्न सकेको छैन ।

काठमाडौंमा हेर्दा खासगरी नेवार समुदाय यो गुठी संस्कृतिसित ऐतिहासिक रूपले र सामाजिक आधारमा ज्यादै बलियो गरी जोडिदै आएको यथार्थ हो । तर अर्को यथार्थ पनि उत्तिकै महत्वपूर्ण छ कि गुठीको नाममा विभिन्न सन्तमहन्तहरूले आर्जन गर्दै आएको अकूत सम्पत्ति र त्यसभित्रको व्यापक रूपमा गर्दै आएको भ्रष्टाचारको जालो यति बलियो छ कि त्यसलाई तोड्न नेपालमा राजतन्त्रलाई फालेर गणतन्त्र स्थापना गर्नभन्दा जटिल र कठिनजस्तै देखिएको छ । सबैजसो गुठी मोहीयानी हकसित जोडिएका छन् र विभिन्न गुठीहरूबाट गुठीको नाममा मोहीहरूमाथि भएको शोषणको जालो पनि नतोडी नेपालमा समाजवादको कुरा त टाढाको विषय हो, पु“जीवादको विकासका लागि पनि कुनै सम्भावना छैन । एउटा कुरा के स्पष्ट हो भने केही गुठीहरू जस्तै पशुपति गुठी, स्वर्गद्वारी गुठी, जनकपुरको रामजानकी मन्दिरको गुठीआदि सामन्तको रूपमा र जमिन्दारीप्रथाको रूपमा स्थापित भएका गुठीहरू हुन् । तिनीहरूको र समग्र गुठीहरूको लेखाजोखाको आवश्यकता छ । हरेक गुठीभित्रको अपारदर्शिता एउटा जटिल समस्या हो र यसको चिरफार अति जरुरी छ । अहिले ओली सरकारले दुईतिहाइ दम्भका आडमा जे जस्तो प्रक्रिया अपनाएर गुठी विधेयक ल्याउन प्रयास गरेको थियो, तत्कालका रोकिएको छ तर त्यो हरेक पक्षबाट गलत छ र त्यसभित्रका दफाबारे खासै बहस नै गरिएको छैन ।

अहिले नेपाली कांग्रेसका ‘युवा नेता’ गगन थापा भन्दै छन्– ‘पशुपति काण्डले प्रचण्ड उडायो, गुठीयार काण्डले ओलीलाई पनि लैजाने छ ।’ तर ओली नेतृत्वको सरकारले दमन र दवावको भाषा बोलिरहेको छ । धर्म, संस्कृति र गुठीको नाममा नेपाली समाजभित्रका केही मानिसहरू सयौ बर्षदेखि गुठीको नाममा लुटतन्त्र पनि गरिरहेका छन् । र नेपालको सन्दर्भमा गुठीसम्बन्धी समस्या कसै न कसैले समाधान गर्नै पर्ने समस्या हो । गुठीतन्त्रभित्र भूमाफियाहरू मौलाएको पाइएका छन् र त्यसमा मोहियानी हकको गला घोटिएको छ । ओली सरकारमा रहेका नेता तथा मन्त्रीहरूको विगतको त्यति राम्रो जनपक्षीय भूमिका छैन । उनीहरूको विगत सबै जसोको एनजीओ–आइएनजीओको विगत हो र भर्खरै त्यस पार्टीको एक प्रभावशाली नेता बिष्णु पौडेलको भूमाफियाहरूसितको साँठगाँठ जनताका बीचमा आएकै विषय हो । यसले ओली सरकारका मन्त्रीहरू यो विधेयकबाट के चाहन्छन् भन्ने एउटा सानो नकारात्मक सन्देश आएको छ । तर यो विषयलाई वैज्ञानिक किसिमले हल गर्न भने अनिवार्य नै छ ।

आफूलाई कम्युनिस्ट भन्ने सरकारले नेपालमा विद्यमान समस्याको माक्र्सवादी अध्ययन र त्यसको समाधान खोज्न आवश्यक छ । तर विडम्बना ! यो सरकार माक्र्सवादी होइन, त्यसैले यसले खोज्ने समाधान पनि माक्र्सवाद विरोधी दलाल तथा नोकरशाही पु“जीवादलाई फाइदा पुग्ने हिसाबले सोच्दै आएकोछ र यसले ल्याउने कुनै पनि विधेयक नेपालका मोही, सुकुम्वासी तथा गरिब किसान र मजदूरको हितमा नभई दलाल तथा नोकरशाही पु“जीपति वर्गको हितमा हुने गर्दछ र गुठी विधेयकवारे पनि सत्य यही हो । नेकपा (क्रान्किारी माओवादी) समवद्ध नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको वक्तव्यमा भनिएका निम्न भनाइहरूको महत्व छ, जसमा भनिइएको छ– ‘नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिको पूर्ण बैठकले गुठीलाई प्राधिकरणको स्वामित्वमा लाने षडयन्त्र विरुद्ध शक्तिशाली आन्दोलनको सृजना गरौं ।’ मोर्चाका अध्यक्ष पवनमानद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख छ । प्राधिकरणको स्वामित्व भनेको दलाल तथा नोकरशाही पु“जीपति वर्गका लागि गुठीमाथि शासन गर्ने एउटा सुरक्षित स्थान हुने स्पष्ट छ । -singhhukum683@gmail. com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here