सहस्रधारा झरना

1269

 

बिजय खत्री

बागलुङ जिल्लको गलकोटमा अवस्थित सहस्रधारा सत्य युगमा ब्रम्हा, विष्णु र महेश्वर  सितलताको खोजिमा हिड्ने क्रममा हाल यही सहस्रधारा भएको ठाउँमा सितल भेटेर बसेका थिए देवताहरुले त्यहाँ  प्यास लाग्दा पानी नपाएकोले हिमालसम्म पुगेर पानी पिएका थिए । देवताहरुले हालको सहस्रधारा रहेको ठाउँको प्रशंसा गर्दै त्यस ठाउँमा पानीको अभावलाई प्रष्टाउँदै हिमालका देवतासँग पानी मागे पश्चात् सहस्रधारा भएको किंवदन्ती रहेको पाइन्छ ।

धार्मिक

हिन्दु धर्मका देवी देवता जस्तै गलकोट सहस्रधारामा पनि झाँक्रि नामका देवी देवताहरु र उनको दरबार रहेको विश्वास रहँदै आएको छ । उक्त दरबार भित्र जानको लागि पहिले ओडार(गुफा) रहेको थियो तर पछि त्यस ओडार माथि रहेको छाना खासेर पुरिएको कुरा हाम्रा जिवित अग्रजहरु जनाउनु हुन्छ । दरबार भित्र गेटपालेदेखि यानसम्मको व्यवस्था रहेको छ भन्ने विश्वास छ । जो मानिसको मन सफा छ, असल छ उक्त मानिसलाई झाँक्रि उत्रिन्छन् र झाँक्रिले आफ्नो दरबारमा लगि मन्त्र सिकाएर पठाउने गर्दछन् भन्नु हुन्छ स्थानीय झाँक्रिबाज हरिलाल खत्री । उहाँले आफुलाई सानैदेखि झाँक्रि उत्रिएको छ भन्ने गर्नु हुन्छ । झाँक्रिले आफुलाई मध्य रातमा लगेर राख्ने ज्ञान दिने, मन्त्र सिकाउँने र नराम्रो काम गरेमा सजाएँ पनि दिने गरेको जनाउनु हुन्छ।

आजभन्दा करिब १२० वर्ष पहिलेसम्म पनि झाँक्री र मानिसहरु बीच प्रत्येक्ष सम्पर्कमा आउने गरेका थिए । झाँक्रिको सेवा (पुजाआरधना) गर्नेले मनका मनोकांक्षा/मनोकामना पुरा हुने विस्वास रहेको पाइन्छ । अहिले पनि झाँक्रिलाई खुसी पार्ने जो कोहीको मनोकांक्षा पुरा हुने विस्वासले बोका बली दिने धार्मिक विस्वास रहेको छ । आजको जमानामा कहिँ कतै पनि उधारो चल्दैन तर मानव र झाँक्रिको बीचमा उधारो पनि चल्छ । अचम्म मान्नु पर्दैन, दुःखको बेलामा झाँक्रिलाई सम्झेर आफ्नो मनोकाँक्षा व्यक्त गर्दै मेरो यस(विशेष) कार्य सफल भएमा हजुरलाई सम्झेर पुजा गर्न आउनेछु भन्ने कामना गर्दा उक्त कामना पुरा हुने जनविस्वास आजसम्म पनि घटेको छैन । यसलाई भाकल गर्ने पनि भनिन्छ ।


प्राकृतिक
नेपाल आफैमा प्रकृतिको सुन्दर उपहार हो । त्यस्तै बागलुङको गलकोटमा अवस्थित सहस्रधारा गलकोटको सान र नेपालको स्वाभिमान हो । यहाँ मोतिले तरल रुप लिए जस्तै कञ्चन पानी बाह्रै महिना झर्ने गर्दछ । उक्त झर्दै गरेको पानीले प्रवाह गरेको जलमिश्रित हावाले उथलपुथल मनलाई शान्त पार्दछ । माथिबाट झर्दै गर्दा पानीले गाएको गीत संगीतको तालमा जलकुम्भी, न्यूरो, उनीउ र बाबियोहरु छमछम नाचि रहेका हुन्छन् भने कञ्चन पानीमा २४सै घण्टा स्नान गरिरहेका असला माछाहरु चादिँसँग टक्कर दिन तमतयार अवस्थामा देखिन्छन् । त्यस्तै विहानको समयमा सूर्यका किरण पानीमा पर्दै गर्दा इन्दे्रणीका सातवटै रंगले सहस्रधारालाई गम्लंग अँगालो मारिरहेको, चुम्बन गरिरहेको प्रत्येक्ष देख्न पाइन्छ ।

आर्थिक
आज भन्दा कारिब २२/२३ वर्ष अगाडी अमेरिकाबाट गलकोटमा स्वास्थ्य शिविर संचालनको लागि आएका अमेरिकी नागरिकहरु सहस्रधारा हेर्न जाने क्रममा यहाँ अर्बौ अर्बको सम्पत्ति रहेको उल्लेख गरेको थिए । हुन पनि हो, अर्बै लगानी गरे पनि बनाउन नसकिने हाम्रो झरना हामी माझ रहेको छ । नजिकको तिर्थ हेलाको उदाहरण हामी आफैलाई बनाई रहेका छौं । यो लेख लेखिरहँदा एउटा कथा याद आयो, एक जना झुपडिको मालिक धन दौलतको खोजिमा कृषि, उद्योग, जागिर, चोरी, लुटपाट सब थोक गर्न कहिल्यै पछि परेन तर पनि सन्तुष्ट भएन । मान्छेको आयु न हो एक दिन मिति पुग्यो । स्वासले धोका दिएर मृत्यू वरण गर्न पुग्यो । तत् पश्चात गाउँलेहरुले उक्त मान्छेले चोरेर लुटेर कमाएको धन घर भित्रै गाडेको हुनु पर्ने आँकलन गरेर खन्ने क्रममा सुनका असर्फी थिए रे । सन्देश : `हामी  आफै पनि आफ्नै वरिपरि मूल्यवान वस्तु भईकन त्यसकै खोजिमा भौँतारि रहेका हुनुसक्छौं । त्यसैले त्यसको खोजि गर्नु पर्छ ।´ त्यस्तै सुनको असर्फी हो, हाम्रो सहस्रधारा ।

सहस्रधाराको उचित प्रचार–प्रसार र व्यवस्थापन गरि आन्तरिक तथा बाह्य पर्यटकहरु भित्राउन सकिने सम्भावनालाई मध्य नजर गर्दै सरकारी, गैरसरकारी, स्थानीय बासी तथा व्यक्तिगत तवरबाट अगाडी बढ्नु पर्ने देखिन्छ । जसले अर्थ आर्जनमा ठूलो टेवा पुग्ने देखिन्छ ।

क्यानोइङ गेम
गलकोट नगरपालिका वडा नं ३ का अध्यक्ष विरजंग भण्डारीले सहस्रधारालाई चिन्न र चिनाउनको लागि सनसनीपूर्ण साहसीक खेलको रुपमा स्थापित क्यानोइङ खेल सहस्रधारामा राख्ने निर्णय अनुसार त्यसको उद्घाटन कार्य पनि गरि सकेका छन् । क्यानोइङ खेल डोरीको सहायताले पानीमा खेल्ने गरिन्छ । माथिबाट पानीसँगै झरेर तलको तालमा खेल्दै रमाउने खेल हो । युवाहरुलाई लक्षित गरि राखिएको उक्त खेलले आन्तरिक तथा बाह्य पर्यटक भित्राउने हेतुले संचालन गर्ने उद्देश्य रहेको छ । लक्ष अनुरुप वडा अध्यक्षकै सक्रियतामा त्यहाँसम्म कच्चि बाटो पुगिसकेको छ ।


नेपालका धेरै झरनाहरु मध्ये गलकोटको सहस्रधारा अन्य झरनाहरु भन्दा फरक छ । त्यहाँ क्यानोइङ खेलको विकास र विस्तार गर्ने क्रममा प्रकृतिलाई नसुहाउँदो किसिमको स्नान घर र अन्य भवनहरु निमार्ण गर्नु, रंग रोगक गर्ने कार्य गर्नु हुँदैन । भवन निमार्ण गर्दा पनि त्यहीको ढुंगा, माटो र काठको मात्रै प्रयोग गर्न सकेमा प्रकृतिलाई यथास्थिति मै राखेर विकास सम्भव हुन्छ साथै हाल सहस्रधारा विकासको क्रममा भएकोले फोहोेर व्यावस्थापनलाई आजैदेखि ध्यानमा राख्नु पर्ने देखिन्छ । तत्कालै गलकोट नगरपालिकाले सहस्रधारा झरनालाई राष्ट्रिय झरनाको रुपमा दर्ता गर्नु पर्ने देखिन्छ ।

देशमा विभिन्न ठाउँमा अवस्थित झरनाहरुको नाम लिने क्रममा सहस्रधारा झरनाको पनि नाम उल्लेख हुँदा गलकोट बासीले सुखद अनुभुति गर्ने कुरामा दुई मत छैन । यदि सहस्र धारा झरनाको दर्ता मात्रै गर्दा पनि यसको प्रचार–प्रसार पनि यसै सँगै जोडिएर आउँछ । त्यसैले गलकोट नगरपालिकाले उक्त झरना दर्ता गर्न जरुरी रहेका देखिन्छ । अन्त्यमा, सहस्रधारा झरनाको विकास र विस्तारको लागि त्यहाँको धार्मिक, ऐतिहासिक, पर्यटकीय र प्राकृतिक पक्षहरुको संरक्षण र संवद्र्धन गर्नुपर्ने हुन्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here