काठमाडौं / आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकार र सिके राउतबीच भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाउँदै विशेष समयको माग गरेका थिए । कतिपय सांसदहरुले मुलुकका लागि घातक ठहरिने खालका शब्द प्रयोग गरेर राउतसँग सम्झौता गरिएकोमा आपत्ति समेत जनाए ।
राजपा अध्यक्ष मण्डलका संयोजक समेत रहेका सांसद महेन्द्र राय यादवले सिके राउतसँग भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरे ।
‘के सरकार जनमत संग्रह गर्ने विषयमा सहमत भएको हो रु सम्झौतामा त्यस्तै झल्कीन्छ, प्रष्ट धारणा चाहियो,’ यादवले भने, ‘राजपा अखण्ड नेपालको पक्षमा छ, मुलुक विभाजन गर्ने कुरा राजपालाई स्वीकार्य हुन सक्दैन ।’
उनले मधेस आन्दोलनबारे सरकारद्वारा गठित छानबिन समितिको प्रतिवेदन तत्काल सदन मार्फत सार्वजनिक गर्न पनि माग गरे । त्यसपछि सभामुख महराले राजपाको माग बमोजिम उक्त प्रतिवेदन सावजनिक गर्न सरकारलाई रुलिङ्ग गरेका छन् ।


















