ग्रेटर नेपाल द्वारा भारतीय विदेश सचिवको विरोध

244

काठमाडौं / शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलन २०१९ मा सहभागिता जनाउन भारतीय विदेश सचिव विजय गोखले काठमाडौँ आउने समाचारप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आज बुधबार ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विज्ञप्ती जारी गर्दै नेपाल लगानी सम्मेलनमा भारतीय विदेश सचिव विजय गोखलेको नेपाल आगमन हुने कुराले खुसी भन्दा बढ्ता पीडा दिने मोर्चाले जनाएको छ । नेपाल लगानी सम्मेलन -२०१९ नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने एउटा राम्रो अवसर रहेको र यस किसमको सम्मेलन नेपालको आर्थिक समृद्धिको द्वार खोल्न सहायक सिद्ध हुनेमा कुनै शङ्का नभएको तर यसमा भारतीय प्रतिनिधित्व एक निर्मम अपसगुन मात्र हुने जनाएको छ ।

‘नेपालमा सरकारले वैदेशिक सहयोगका लागि दातृ सम्मेलन गरोस् वा वैदेशिक लगानीका निम्ति अन्तर्रा्ष्ट्रिय सम्मेलनको आयोजना गरोस् , त्यसमा भारतको प्रतिबद्धता उत्साहजनक हुने गर्छ तर त्यसको कार्यान्वयन सधैँ निराशाजनक ।’– विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्तीका अनुसार – ‘आफ्नो प्रतिबद्धता पूरा गर्नेतर्फ भारतीय पक्षको ध्यान कहिल्यै गएको देखिएको छैन । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पपछि काठमाडौंमा आयोजित दातृ सम्मेलनमा भारतले गरेको रू. १०००००००।– को सहयोगको कार्यान्वयनको अवस्था दयनीय पाइएको छ । भारतीय सहयोगका विकास परियोजनाहरूको अवस्था पनि रुग्ण देखिन्छ ।’

मोर्चाले विज्ञप्तीमा भारतको ध्यान नेपालको विकास र समृद्धिमा नभएर कसरी नेपालको विकासलाई रोक्न सकिन्छ भन्नेमा छ । नेपालको पानी र जवानीमा भारतको मुख्य चासो रहेको विज्ञप्तीमा भनिएको छ । ‘नेपालको जलस्रोतमा कब्जा जमाउने र पहाडका जवानहरूलाई भारतीय गोर्खा सेनामा भर्तीको निरन्तरतामा मात्र भारतको रुचि र ध्यान छ । आफ्नै पानी प्रयोगको हकबाट नेपाललाई भारतले वञ्चित गरेको तीतो यथार्थलाई आँखा चिम्लेर बिर्सन सकिँदैन ।’– विज्ञीप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भारतीय विदेश सचिव विजय गोखलेको काठमाडौँ बसाइ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका दृष्टिमा नरुचाइएको पाहुनाजस्तो मात्र भएको जनाइएको छ । जहाँ पाहुनाले सम्मानको अनुभूति गर्न पाउँदैन त्यहाँ जानु भनेको ‘मान् कि नमान् म तेरो मेहमान’ भनेजस्तै हो भनेर विज्ञप्तीमा जनाइएको छ ।

‘नेपालको ६०००० वर्ग किलोमिटर जमिनमा उपनिवेश कायम गरेर स्वतन्त्रताको दुहाइ दिने अनि भूकम्पको मारमा परेर तङ्ग्रिन नपाउँदै हामीमाथि नाकाबन्दी लगाएर मानवअधिकारको नारा दिने भारतको राक्षसी प्रवृत्तिको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विज्ञप्तीमार्फत घोर भत्र्सना र विरोध जनाएको छ । मोर्चाले यस किसिमको विरोधको क्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनतासमक्ष औपचारिक रूपमा माफी नमागेसम्म निरन्तर जारी राख्ने समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here