बारा र पर्सामा हावाहुरीका कारण मृत्यु हुनेको संख्या बढ्दै, ५ सय बढी घाइते

229

काठमाडौं / गएराति परेको असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको प्रदेश २ सरकारले जनाएको छ । रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको जनाउँदै हिजो बेलुका आएको हावाहुरीका कारण बाराको दक्षिणी क्षेत्रमा बढी क्षति पुगेको जनाएका छन् । आधा दर्जन बढी गाउँका अधिकांश घरहरु भत्किएका छन् ।

नेपाली सेना र प्रहरीले बिहानैबाट उद्दार जारी राखेका छन् । हावाहुरीका कारण घाइते भएकाहरुमा रगतको अभाव भएका कारण सेनाहरुद्वारा रक्तदान समेत गरिएको छ । केन्द्र सरकारले समेत उद्धारका लागि टोली परिचालन गरेको जनाएको छ । उद्धारका लागि ठूलो संख्यामा नेपाली सेना खटिएका छन् । भोकभोगै रहेका पीडित र घाईतेका लागि स्थानीय संघसंस्था, सुरक्षानिकाय लगायतले चिया बिस्कुट सहितका खानेकुरा वितरण गरेका छन् ।

पर्सामा पनि केही गाउँमा क्षति पुगेको छ । बारा र पर्साका विभिन्न अस्पतालमा ५ सय बढीको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । कलैया अस्पतालमा मात्र २ सय बढीको उपचार भइरहेको छ ।

यसैबीच, प्रदेश २ सरकारले हावाहुरीमा परी मृत्यु भएका परिवारलाई तत्कालिन राहतस्वरुप ३ लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले घाईतेको उपचार तथा विस्थापित सबैको पुर्नवासको जिम्मा समेत सरकारले लिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रदेश २ सरकारले सहयोगका लागि संघीय सरकार, स्थानीय सरकार, दातृ निकाय, सुरक्षा बल सबैलाई आग्रह गरेको छ ।

आइतबार राती नै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धार र सहयोगको कुनै कसर बाँकी नराख्न सबैलाई निर्देशन दिइसकेको ट्वीटरमार्फत जानकारी गराएका ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेर आज सोमबार चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here