काठमाडौं / प्रगतिशिल समूहका वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ नेपाल बार एशोसिएसनको अध्यक्षमा निर्वाचित भएका छन्। लोकतन्त्रवादी समूहका सुनीलकुमार पोखरेललाई १४९ मतले पछि पार्दै श्रेष्ठ विजयी भएका हुन्। महासचिवमा लोकतन्त्रवादी समूहका लिलामणि पौडेल विजयी भएका छन्।
अध्यक्षसहित २५ सदस्यीय बार कार्यसमितिमा २२ पदसहित प्रगतिशिल समूहले वर्चस्व कायम गरेको छ। महासचिव, एक उपाध्यक्ष र एक जनजाती पदमा लोकतन्त्रवादी समूहले जितेको छ। निर्वाचन समितिका संयोजक दामोदर खड्काले बिहीबार साँझ बार निर्वाचनका परिणाम घोषणा गरेका हुन्।
अध्यक्षमा विजयी श्रेष्ठले चार हजार २२ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी पोखरेलले तीन हजार आठ सय ७३ मत पाए। महासचिवमा पौडेलले चार हजार एक सय ७८ मतसहित विजयी भए। पौडेलका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र थापाले तीन हजार सात सय एक मत ल्याएका छन्।


















