काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिहीबार फ्रान्सको लियोन प्रस्थान गर्नुभएको छ । NCB नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक खनाल चैत २६ देखि २८ गतेसम्म फ्रान्समा संचालन हुने इन्टरपोलको १५औं HEADS of NCB सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रहरी महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो ।
सम्मेलनमा सुरक्षा प्रमुखहरुसँगको अन्तरक्रियाबाट NCBहरुको कार्यशैलीमा थप प्रभावकारिता ल्याउन अन्तर्राष्ट्रिय क्षेत्रमा विकसित विभिन्न नवीन प्रविधि र अपराध नियन्त्रण तथा सुरक्षा सम्बन्धी नयाँ रणनीतिहरुमा सहकार्य गर्ने सम्बन्धमा छलफल हुनेछ । विकसित नयाँ प्रविधिमा साक्षात्कार एवम् अन्तर्राष्ट्रियस्तरमा व्यावसायिक सम्बन्ध विस्तार गर्दै भावी रणनीति तय गरी कार्यान्वयनमा लैजान विभिन्न सदस्य राष्ट्रहरुबीच द्विपक्षीय छलफलका साथै एसिया तथा दक्षिण प्यासिफिक क्षेत्रीय गोलमेच छलफल समेत सो अवसरमा हुने कार्यक्रम रहेको छ ।
साथै प्रविधि एवम् प्राविधिक क्षेत्रमा भएको परिवर्तन, आतंकवाद र आतंककारी क्रियाकलाप, साइवर अपराध, डार्क-नेट, क्रिप्टो करेन्सिज, डिएनए, फिङ्गरप्रिन्ट डाटावेश तथा फेसियल रिकगनिसन लगायतका विषय र ती विषयका चुनौती तथा समाधानका पक्षमा समेत सम्मेलनमा विशेष छलफल हुने कार्यक्रम तय भएको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा प्रत्येक वर्ष उक्त सम्मेलन संचालन हुने गर्दछ । यस वर्षको उक्त सम्मेलनमा इन्टरपोलका सम्पूर्ण १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधिहरु सहभागी हुने कार्यक्रम रहेको छ ।

![swaviman]](https://swaviman.com/wp-content/uploads/2019/04/swaviman-5-696x499.jpg)















