काठमाडौं / सार्वजनिक यातायातमा नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ ।
त्यस्तै गाडीभित्रै फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा पनि कारबाही हुने भएको छ । काठमाडौं उपत्यकाबाट त्यसलाई थप व्यवस्थित गर्ने प्रयास सुरु गरिएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’ मा सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने कम्पनी, चालक, सहचालक र यात्रुको कर्तव्यहरु तोकिएको छ ।
बस तथा माइक्रोमा स्कुल तथा कलेज पढ्ने विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिकले परिचय पत्र देखाउँदा छुट पाउँने गरेको छ । तर, स्कुल९कलेज भर्ना नै नभएकाहरुले पनि नक्कली परिचय पत्र देखाएर छुटको सुविधा लिने गरेका छन् । अब म्याद समाप्त भएको परिचय पत्र वा नक्कली परिचय पत्र प्रयोग गरी भाडामा छुट लिन खोज्ने यात्रुहरुलाई कारवाही हुने भएको छ।
महानगरपालिकाको आइतबारको नगरसभाबाट पारित भएको विधेयक अबको १५ दिनभित्र प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनमा आउने महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले जनाएका छन ।


















