जनकपुरधाम / विनाशकारी हावाहुरीमा ज्यान गुमाएकाहरुको सम्झनामा संघीय सरकारले राष्ट्रिय शोक घोषणा गर्न अस्वीकार गरेपछि प्रदेश २ सरकारले चैत ३० गते शोक मनाउने भएको छ ।
प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथिमा चैत ३० गते शोक मनाउने निर्णय गरेको हो ।
त्यसदिन बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौन धारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
बैठकले मृतक परिवारलाई किरिया खर्च वापत तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिए ।


















