डाउन सिन्ड्रोम बच्चा गर्भमा हुँदै यसको विकास भइसकेको हुन्छ। साधारण अवस्थाका व्यक्तिमा हुनेभन्दा एउटा क्रोमोजोम बढी हुने अवस्था हो डाउन सिन्ड्रोम। यसको कारणबाट बालबालिकाको शरीरिक तथा बौद्धिक अवस्थामा भिन्नता देखापर्छ। यो सिन्ड्रोमका मानिसलाई अरुमा भन्दा स्वास्थ्य समस्या केही बढी देखिन्छ। तर डाउन सिन्ड्रोम अवस्थाका केटाकेटीको जन्म हुनुमा कुनै अभिभावकको मात्र दोष हुँदैन।
एक प्रकारको बौद्धिक अपाङ्गता भनिने डाउन सिन्ड्रोम गर्भमा भएको शिशुमा छ कि छैन भनी ‘प्रि नेटल टेस्टिङ’ जाँच गरेपछि थाहा पाउन सकिन्छ। यसको जाँच नेपालमा उपलब्ध नभए पनि भारतमा रगतको नमुना पठाएर जाँच गराउने गरिएको छ। एक अन्तर्राष्ट्रिय अनुसन्धान अनुसार यो अवस्था बुवा तथा आमामध्ये जसको वंशबाट पनि बच्चामा आउन सक्दछ र आमाको उमेर ३५ वर्ष नाघेपछि गर्भधारण गर्दा यस अवस्थाका बच्चाहरुको जन्म हुने सम्भावना बढी रहन जान्छ।
डाउन सिन्ड्रोम अवस्थामा देखिने लक्षणहरु
–जन्मँदा कम तौल हुने
–जोर्नीहरु खुकुलो हुने
–मांसपेशीहरु खुकुलो हुने
–अनुहार गोलो हुने
–आँखा अलि छड्के हुने
–नाक सानो र डाँडी नहुने
–खाने मुख सानो देखिने
–मुखभित्रको तालुमा गहिरो खाल्डो देखिने
–जिब्रो प्रायस् बाहिर निकालिरहने
–जिब्रो चुसिरहने
–जिब्रो मोटो र फुटेको जस्तो देखिने
–कान सानो हुने
–टाउको सानो र पछाडिको भाग फराकिलो हुने
–दाँत मिलेर नआउने र कुनैकुनै आउँदै नआउने
–हात र खुट्टाको पाखुरा र पिडौँलाको लम्बाइ छोटो हुने
–छाती परेवाको जस्तो उठेको हुने
–पेट केही ठूलो आकारको हुने
–हातखुट्टा भ्यात्त परेको हुने
–औंला छोटो र मोटो हुने
–गर्दन छोटो र मोटो हुने
–छाला सुक्खा र एलर्जी छिट्टै देखापर्ने
–खुट्टाको बूढीऔंला र अरु औंलाबीचको दुरी बढी हुने
–उचाइ कम हुने
–शारीरिक तथा मानसिक विकासमा सुस्तता अर्थात् मन्दता
–हाडजोर्नी खुकुलो र फितलो जिउ
–हत्केलाको मध्यभागमा एउटा मात्र रेखा
–हातको कान्छी औँलाको बीचको जोर्नी सानो हुने र त्यहाँ रेखा नहुने
माथि उल्लिखित लक्षणहरु डाउन सिन्ड्रोम अवस्थाका केटाकेटीहरुमा पूर्ण वा आंशिक रुपमा देखा पर्न सक्छन्।
के डाउन सिन्ड्रोम निको हुन्छ ?
डाउन सिन्ड्रोम भनेको रोग होइन र यो कसैलाई सर्दैन। यो प्रकृतिक अपरिवर्तनीय अवस्था हो। जुन जन्मजात बच्चासँगै आएको हुन्छ। यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा अनुसन्धान जारी नै छ तर अझैसम्म पनि यसलाई निको पार्ने तरिका पत्ता लागिसकेको छैन।


















