मुस्लिम समुदाय : शिक्षामा गम्भीर महिला सशक्तिकरणमा मौन

322

जनकपुरधाम / हरेक नयाँ शैक्षिक सत्रमा सरकारी निकायले भर्ना अभियान चलाएता पनि धेरै बालबालिका विद्यालय बाहिरै रहेको पाइयो । भर्ना भएकाहरु पनि कक्षामा अनियमित बन्दा विद्यालय भर्ना अभियान असफल हुने गरेको छ ।

तराई–मधेशका विद्यालय नजानेमा मुस्लिम र दलित समुदायका बालबालिका बढी छन् । यो अवस्थालाई ध्यानमा राखेर यसपटक इस्लामिक संघ, नेपालले शैक्षिक जागरण सप्ताह गरेको छ । संघले झापादेखि कैलालीसम्म गरेको कार्यक्रमहरुमा मुस्लिम महिला सहभागिता न्यून देखियो । गत २६ चैतमा सप्तरीमा आयोजना गरिएको अन्तिम कार्यक्रममा एक जना पनि महिला देखिएनन् ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रदेश २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साह सहभागिता थियो । उनका अनुसार, ‘परिवर्तनका लागि गरिएको कार्यक्रममा एकजना पनि महिला नभएपछि समाज कसरी बदलिन्छ ? त्यसकारण, आगामी दिनमा महिलालाई पनि अगाडि ल्याउन आग्रह गर्दछु ।’

शैक्षिक जागरण कार्यक्रम गरिएको अधिकांश ठाउँको अवस्था सप्तरीको जस्तै थियो । बालबालिकालाई पढाउने पहिलो भूमिकामा आमा हुन्छिन् । शैक्षिक जागरण अभियानमा आमाहरु नै छुटेपछि यो कार्यक्रमको सार्थकतामा प्रश्न उठेको छ । ‘यो कुरा हामीले बुझेका छौं’ आयोजक संघका अध्यक्ष खुर्सिद आलम भन्छन्, ‘अबको’ अभिभावक भेलाहरुमा महिलाको प्रतिनिधित्व गराउँछौं ।’

सप्तरीका मुस्लिम अगुवा कलिम खान रुढीवादी सोंचका कारण महिलाहरु सार्वजनिक कार्यक्रमहरुमा जान नमान्ने बताउँछन् । यो अवस्था हटाउन पनि शैक्षिक अभियान आवश्यक भएको बताए ।

खानले थपे, इस्लाममा पुरुष र महिलाको हक बराबरी छ । ‘तर कतै न कतै त्रुटि पनि छ’ उनी भन्छन्, “यस्ता समस्या हटाउन अब महिलालाई इस्लामिक मात्र होइन् विज्ञान, गणितका साथै प्राविधिक बिषयहरुको पढाइ पनि चाहियो ।’

मुस्लिम महिलाहरु बुर्काको पर्दामा रहँदै आएका छन् । यही कारण मुस्लिम समुदाय पछाडि परेको भन्ने बहस पनि सुनिन्छ । इस्लामिक संघका अध्यक्ष आलम शरीर ढाक्ने कपडा लगाएपछि बुर्का अनिवार्य नहुने बताउँछन् । ‘बुर्का लगाएर होस् या नलगाएर’, उनी भन्छन्, “समाजलाई अगाडि बढाउन मुस्लिम महिलाहरु अगाडि आउनु जरुरी छ ।”

त्यसकै लागि शैक्षिक बहस चलाएको मुस्लिम अगुवाहरु बताउँछन् । उनीहरुका अनुसार, कुरानमा पहिलो शब्द नै ‘पढ’ छ । अर्थात्, शिक्षा ग्रहण गर्नु हरेक मुस्लिमको दायित्व हो । शिक्षा नभए धर्म अधुरो हुन्छ ।

मुस्लिम समुदायका अर्का अगुवा युसुफ अलि मुस्लिम महिलालाई शिक्षा र सशक्तिकरण अत्यावश्यक भएको बताउँछन् । ‘आजका मुस्लिम महिला भनेका रोटी, बिरयानी पकाउने मात्र होइनन्’, उनी भन्छन्, “भोलिका डक्टर, इन्जिनियर, वकिल, वैज्ञानिक, प्रशासक पनि हुन् ।”

त्यसका लागि शिक्षासंगै सशक्तिकरण चाहिएको उनले बताए । बालबालिकालाई शिक्षामा जोड दिए पनि महिला सशक्तिकरणमा मौन बसे लक्ष्य पूरा हुन धेरै समय लाग्ने अलिको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here