काठमाडौं / सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा जडानमा खर्च भएको हो ।
चैतमा मात्र अर्थ मन्त्रालयले आठ अर्ब ८४ करोड ८१ लाख रकमान्तर गरेको छ । त्यसमध्ये प्रधानमन्त्रीनिवासमा सिसिक्यामरा जडानका लागि एक करोड रकमान्तर भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यसबाहेक विभिन्न सडक आयोजनाका नाममा बढी रकम रकमान्तर भएको हो ।
प्रधानमन्त्रीको जिल्लामा २० करोडका सडक आयोजना
तराई–मधेस सडक पूर्वाधार आयोजनाअन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा विभिन्न आयोजनाका नाममा २० करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । अर्थ मन्त्रालयका अनुसार झापाको लक्ष्मीपुर–घैलाडुब्बा सडकका लागि पाँच करोड, झापाचोक–भद्रपुर–बिर्तामोड सडकका लागि १० करोड र अल्टाबारी–गौरीगन्ज–पाडाजुँगी सडकका लागि पाँच करोड रकमान्तर भएको तथ्यांक छ । तराई–मधेस सडक पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत नै तिनाउ–दानव नदी करिडोरका लागि १५ करोड रकमान्तर भएको छ । झापामै औद्योगिक क्षेत्रको मुआब्जाका लागि १० करोड रकमान्तर भएको छ ।नयाँ पत्रिका


















