–निमकान्त पाण्डे
अब प्रचण्ड र ओलीबाट आशा गर्नु ब्यर्थ छ भन्ने खालका निराशाजनक अभिव्यतिmहरु व्यापकरुपमा सुन्न थालिएको छ । नेपाली जनताले राणा शासक र राजतन्त्रलाई ईतिहास बनाई दिएका छन् भने नेपाली कांग्रेसलाई कमजोर प्रतिपक्ष बनाएर नेपाल कम्युनिष्ट पार्टीलाई ऐतिहासिक जिम्मेवारीमा पु¥याएका छन् । यस्तो महत्वपुर्ण जिम्मेवारी पाएका नेताहरुले जीवनभर गरेको मेहनतलाई अवश्य पनि सदुपयोग गर्ने कुरामा आशावादी बन्नै पर्ने हुन्छ ।
वर्गशत्रु अन्त्य गर्न भन्दै झापा आन्दोलनमा सक्रिय बनेका केपी शर्मा ओली र सर्वहारा वर्गको मुक्ति र शोषित पीडित जनताको उत्थानका लागि भन्दै १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शक्तिशाली सत्ताको अगुवा बनेका छन् । वर्गसंघर्ष, वर्गीय मुक्ति, सर्वहारावर्गको अधिनायकत्वलगायत यस्ता धेरै शब्द छन् जसलाई उनीहरुले मुक्तिकामी भनिएको आन्दोलनका क्रममा उच्चारण गरे । जनताको मुक्तिका लागि जनताकै छोराछोरी सत्तामा पुग्नुपर्छ भनेर पनि उनीहरुले धेरै प्रशिक्षण र कार्यक्रममा भन्दै आए । क्रान्तिकारी आन्दोलनको रुपमा नेता बन्न सफल भएका ओली र प्रचण्ड एक जनामात्र नभएर दुवै जना अहिले सत्तामा डाडु पन्यु चलाउने ठाउँमा पुगेका छन्, यस्ता नेताबाट आशा नगरेर नेपाली जनताले कोबाट आशा गर्ने ?
परन्तु ओली र प्रचण्डले अब आत्मसमीक्षा गर्नुपर्ने बेला भएको छ । हिजो आन्दोलनका बेला गरेका प्रतिवद्धता कति पुरा भए ? अब यसको मूल्यांकन गर्ने समय आएको छ । सम्भवतः यसको उचित मूल्यांकन गर्ने हक शोषित, पीडित र सर्वहारा वर्गलाई नै छ, तर हिजोका ती आन्दोलनको साक्षी र त्यही समाजको सदस्य हुनुको नाताले पंक्तिकारले पनि आन्दोलनबाट जनतालाई कति घाटा अथवा नाफा भयो भन्ने मूल्यांकन गर्ने हैसियत राख्छ । यो आलेख मार्फत आन्दोलनको बलमा सत्तामा पुगेपछि विगतका प्रतिवद्धता कति पुरा भए ? अबको बाटो के हो ? र नेतृत्वलाई कसरी खबरदारी गर्ने ? भन्ने जस्ता विषयमा चर्चा गर्न खोजिएको छ ।
हिजो राजाबाट पनि नेपाली जनताको चाहना र आकांक्षा पुरा हुन सकेन, लामो इतिहास बोकेको राजनीतिक दल नेपाली कांग्रेसबाट पनि नेपाली जनताले धोका सिवाय केही पाएनन् । नेपाली जनताको विश्वास र भरोसा कम्युनिस्टहरुप्रति थियो र आज पनि केही हदसम्म छ । किनभने अधिकारको प्राप्तिका लागि कतिपय कम्युनिस्ट नेताहरुले आफ्नो जीवनको प्रवाह नगरी क्रान्तिको विगुल फुकेका थिए भने त्यही सुनौलो दिनको आशामा दशौँ हजार निहत्था जनताले बलिदानी पनि दिएका थिए । त्यसैले जनताले कम्युनिस्टहरुप्रति झिनो आशा राख्नु स्वभाविक नै होे ।
नेतृत्वका हिसाबले त्यो आशा झापा आन्दोलनका नाइके ओली र दशवर्षे जनयुद्धका नायक प्रचण्डसँग जनताको ठूलो अपेक्षा र आशा रहनु स्वाभाविक हो । संयोग नै भन्नुपर्छ प्रचण्ड दुई पटक सत्ताको नेतृत्वमा पुगिसकेका छन्, ओलीले दोस्रो कार्यकाल शक्तिशाली प्रधानमन्त्रीका रुपमा चलाउँदैछन् । त्यसमा बलियो मियो बनेर साथ दिइरहेका छन् प्रचण्डले । त्यसैले क्रान्तिका दुई खम्बाबाट जनताले धेरै नै अपेक्षा गर्नुलाई अन्यथा भन्न सकिदैन ।
प्रचण्ड दुवै पटक प्रधानमन्त्री हुँदा पुरा कार्यकाल सत्ता चलाउन पाएनन् र उनी गठबन्धनको सरकारबाट प्रधानमन्त्री भएकाले ठूलो अपेक्षालाई सम्बोधन गर्न सम्भव पनि थिएन् । ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा आशाको त्यान्द्रो छाडेका थिए । तर अहिले दुवै नेताको गठजोडमा शक्तिशाली सरकार बन्दा पनि जनताका अपेक्षा भने जहाँको त्यहीँ रहेका छन् । यसले जनतामा चरम निराशा छाउँदै गइरहेको छ ।
यदि प्रचण्ड र ओली साच्चिकै इमान्दार हुने हो भने जनताका पक्षमा काम गर्नका लागि र उनीहरुले विगतमा गरेका प्रतिवद्धता पुरा गर्नका लागि यो स्वर्णीम समय हो । तर विडम्बना ! हिँजो वर्गसत्रुको विरोध गर्ने दुवै नेताका अगाडि र पछाडी अहिले हिँजो वर्गसत्रु भनिएकै व्यक्तिहरुको रजाईँ देखिन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा शक्तिशाली सरकार बन्दा समेत जनताले कांग्रेसको सरकारमा भन्दा कुनै भिन्नता महसुस गर्न सकिरहेका छैनन् । सिद्धान्ततः कम्युनिस्ट र कांग्रेसका बीचमा भिन्नता देखिएपनि व्यवहारमा कम्युनिस्टहरु कांग्रेस भन्दा पनि कमजोर अवस्थामा प्रस्तुत भइरहेका छन् । हिँजो काम गर्न नसके पछि अस्थिरता र कांग्रेससँगको सहकार्यलाई दोष लगाउने ठाउँ थियो, तर आज कम्युनिस्टकै सरकार छ र काम गर्न अवरोध सिर्जना गर्ने कुनै शक्ति पनि अस्तित्वमा देखिदैन । तर सरकार किन यतिधेरै निरिह बनिरहेको छ ? यसको जवाफ प्रचण्ड र ओलीले दिनसक्नुपर्छ ।
प्रचण्ड र ओलीसामु अझै पनि जनतासँग गरेका बाचा पुरा गर्नका लागि समय बाँकी छ । हिँजो कुन सन्दर्भमा जनताको अधिकारको कुरा गरिएको हा े? त्यही हिसाबले जनतालाई अधिकार सम्पन्न गराउन प्रचण्ड र ओलीले भूमिका खेल्नुपर्छ । कम्युनिस्टप्रतिको विश्वासकै कारण प्रष्ट बहुमत दिएका जनताले आफ्नो अधिकार र मुलुकको विकासमा वर्तमान सरकारले काम गरेमा भोलि दुई तिहाईसहितको समर्थन दिन पनि तयार हुनेछन् । यदि शक्तिशाली सरकारको नेतृत्व गर्दा पनि ओली र दाहालले जनतामाथि निरन्तर धोका दिने काम गरे भने दुई नेता मात्र होइन, नेपालको इतिहासबाट कम्युनिस्ट भन्ने शब्द पनि लोप भएर जाने खतरा देखिन्छ ।
लोकतन्त्रमा जनताभन्दा ठूलो र महान अरु कोही हुन सक्दैन । जनताको सेवक भएर जनताको सेवा गर्न राजनीति गर्छौँ भन्नेहरुले त यसलाई झन पुष्टि गरेरै देखाउन आवश्यक हुन्छ । त्यो कुरामा दुई ठूला क्रान्तिबाट माझिएर आएका ओली र प्रचण्ड चुक्दै गइरहेका छन् । उनीहरुको यो कमजोरीले समृद्ध मुलुक र अधिकार सम्पन्न जनताको परिकल्पना गरेका नेपाली जनतामाथि निरन्तर धोका हुँदै गइरहेको छ । ओली र प्रचण्डले आफ्ना प्रतिवद्धता पुरा नगरी कम्युनिस्ट आन्दोलनलाई बीचमै धोका दिन खोजेकाले उनीहरुको विकल्प समेत खोज्न थालिएको अवस्था छ । कम्युनिस्ट आन्दोलनलाई नयाँ सिराबाट हिँडाउनुपर्ने भन्दै एउटा समुह पुनः क्रान्तिको बाटोमा अग्रसर भइरहेको छ । यो सबै ओली र प्रचण्डको अकर्मण्यताकै कारण हो । यदि दुवै नेताले विगतको प्रतिवद्धता र आन्दोलनको आत्मसमिक्षा गर्दै मुलुकलाई सही मार्ग दर्शन गर्न नसक्ने हो भने यसको परिणाम निकै नमिठो हुने निश्चित छ । त्यसले मुलुकलाई त थप पछाडि धकेल्ने त छ नै क्रान्तिकारी आन्दोलनका बलमा सत्तामा पुगेका ओली र प्रचण्डको इतिहासलाई पनि नामेट पार्ने निश्चित छ । त्यसैले बेलैमा सोँचेर विगतका आफ्नै प्रतिवद्धताको कार्यान्वयनमा लाग्नु नै दुई नेताका लागि फाइदाजनक हुनेछ । त्यसैले नेपाली जनताले ओली र प्रचण्डबाट आशा गर्नुपर्ने अवस्था देखिन्छ । आगे ओली र प्रचण्डलाई चेतना भया ! -जनधारणा साप्ताहिक


















