प्रभु बैंकले विनाधितो १० लाखदेखि पाँच करोडसम्म ऋण दिने

409

काठमाडौं / प्रभु बैंकले विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउने सरकारी योजना सफल पार्न बैंकले हातेमालो कर्जा योजना ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले विदेशबाट फर्केका व्यक्तिलाई  १० लाख रुपैयाँ सम्म विनाधितो ऋण दिने जानकारी दिनुभएको छ । पाँच करोड रुपैयाँसम्म ऋण दिने यस्तो योजनाको ब्याज बार्षिक ५.३७ प्रतिशत मात्रै पर्ने बैंकले जनाएको छ ।

यो योजनामा विदेशबाट फर्केका व्यक्तिले १० लाख रुपैयाँसम्म ऋण विनाधितो पाउने छन् । यस्तो कर्जा लिने व्यक्तिसँग विदेशको पीआर तथा ग्रीन कार्ड हुन नहुने र विदेशबाट फर्केको ३ बर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ ।

बैंकले व्यवसायिक कृषि कर्जा योजनामा ५ करोड रुपैयाँसम्म ऋण दिनेछ । यस्तै श्रमशील कर्जा योजनामा १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि भने परियोजनाको व्यवसायिक सम्भावना नै धितो हो । राम्रो सम्भावना देखिएका परियोजनालाई बैंकले विनाधितो ऋण दिनेछ ।

बैंकले १० लाख रुपैयाँभन्दा बढी ऋण लिनको लागि संस्था हुनै पर्ने र १ करोड रुपैयाँभन्दा बढीको लागि कम्पनी दर्ता भएको हुनुपर्ने शर्त राखेको छ । शिक्षित युवा बेरोजगार कर्जाको लागि बैंकले उज्जल कर्जा योजना ल्याएको छ । यो योजनामा योग्य हुनको लागि स्नातक तहसम्मको अध्ययन भएको र ४० बर्ष उमेर ननाघेको व्यक्ति हुनुपर्नेछ ।

कर्जाको लागि बैंकले आफ्नो औसत ब्याज ९।३७ प्रतिशतमा २ प्रतिशत प्रिमियम जोड्ने छ । यसो गर्दा बैंकको ब्याज ११।३७ प्रतिशत पुग्नेछ । तर, सरकारले २१ भदौ २०७५ मा पारित गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि’मा यस्तो कर्जामा सरकारले ६ प्रतिशत ब्याज दिने उल्लेख छ । सोही कारण बैंकको ब्याज ११.३७ प्रतिशत भएपनि ऋणीले जम्मा ५.३७ प्रतिशत मात्रै तिर्दा हुने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here