काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारदेखि छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएकी छिन् ।
उनी चिनियाँ समकक्षी सी जिङ पिङको निमन्त्रणामा बेइजिङमा हुन लागेको अन्तराष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन त्यसतर्फ जान लागेकी हुन् । उनले उक्त कार्यक्रमलाई सम्बोधन गर्ने छिन् । उनी राष्ट्रपतिले आयोजना गर्ने भोजमा पनि सहभागी जनाउने छिन् । साथै उनले अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीको उद्घाटन समारोहमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ । त्यहाँ उनले नेपाली स्टलको पनि अवलोकन गर्नेछिन् ।
भ्रमणका क्रममा भण्डारीले समकक्षी सीसँग दुई पक्षिय छलफल गर्ने कार्यक्रम रहेको छ । उनले चिनियाँ उच्च नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । चीनमा रहँदा उनले नेपाल र चिनियाँ व्यापारिहरुको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा पनि सहभागी हुने छिन् । भ्रमणका क्रममा उनले साङसी प्रान्तको राजधानी सी र ल्हासामा पनि भ्रमण गर्ने र प्रान्तिय नेताहरुसँग पनि भेटने कार्यक्रम रहेको छ । उनको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल लगायतका उच्च अधिकारीहरु पनि सहभागी हुनेछन् । राष्ट्रपति भण्डारी बैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


















