सामुदायिक विद्यालयका विद्यार्थीलाई भर्ना शुल्क नलिने

260

बुटवल  / सामुदायिक विद्यालयले विभिन्न शिर्षकमा शुल्क लिइरहेको गुनासो आइरहेको बेला रुपन्देहीको रोहिणी गाउँपालिकाले भने विद्यार्थीको भर्ना शुल्क नउठाउन विद्यालयहरूलाई निर्देशन दिएको छ। गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई विद्यार्थीबाट भर्ना शुल्क नलिन निर्देशन दिनु भएको छ कतिपय विद्यालयले विद्यार्थीबाट रकम उठाएर विद्यालयको बैंक मौज्दात मात्र बढाएको उनको आरोप छ।

‘विद्यार्थी र उनीहरूको अभिभावकको रगत पसिनाको कमाइ चुसेर विद्यालयले आफ्नो बैंक ब्यालेन्स बढाउनु गलत हो’,यादवले भने, ‘त्यसकारण अबका दिनमा गाउँपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा भर्ना शुल्क लिन दिन्न।’ रामनरेश यादव आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले गाउँ शिक्षा समितिले भर्ना शुल्क नलिने निर्णय गरिसकेको हुँदा सोही अनुसार गर्न गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालय र मदरसाहरूलाई परिपत्र गर्ने जनाए ।

‘गाउँभरी घरदैलो गरी जतिसक्यो धेरै विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गर्नुस्, विद्यालयमा जति विद्यार्थी भर्ना हुन्छन् ती सबै विद्यार्थीको भर्ना बापतको शुल्क गाउँपालिकाले भुक्तानी गर्ने छ,’ उनले जानकारी दिए । कुनै पनि हालत रोहिणी गाउँपालिकाका सामुदायिक विद्यालयहरूले भर्ना शुल्क लिन नपाउने र लिएको भए पनि त्यसलाई फिर्ता गर्न उनले विद्यालयहरूलाई निर्देशन दिएको छ । यसै शैक्षिक सत्रदेखि नै भर्ना निस्शुल्क गरिएको र विद्यालयले भर्ना शुल्क लिएरनलिएकोबारे स्थानीय तहले सबै विद्यालयको अनुगमन गर्ने भएको छ । अध्यक्ष यादवले विद्यालयमा हुने खर्च रकम विद्यार्थीबाट उठाउन खोज्नु गलत भएको टिप्पणी गरे ।

विद्यालयहरूलाई सक्रियतापूर्वक घरदैलो गरी भर्ना अभियान बढाउन उनले निर्देशन दिनु भयो । विद्यालयको कोष बढाएर कतिपय विद्यालयका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले कोष हिनामिना गरिरहेको उजुरीहरू गाउँपालिकामा आइरहेको भन्दै अबका दिनमा कोष बढाउनभन्दा पनि शैक्षिक स्तर उकास्न उनले विद्यालयहरूलाई आग्रह गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here