काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वर्तमान सरकार ढाल्नु पर्ने आवश्यकता नरहेको बताएका छन् । शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूहरु वर्तमान सरकार ढाल्ने खेलमा नलाग्ने स्पष्ट पारे । उनले भने,‘कांग्रेस सरकार ढाल्ने खेलमा लाग्दैन् । यो सरकार त फर्सी आँफै कुहिएर झरेजस्तो अवस्थामा रहेको छ, यो सरकार जाते जाते कहीँ व्यवस्था नै लग्ने त होईन भन्ने चाहीँ हामीलाई चिन्ता छ,’ उनले भने ।
उनले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । उनले भने,‘यो सरकार बनेको १४ महिना बितिसक्यो, तर यसले अहिलेसम्म जनतामा कुनै ठोस उपलब्धि देखाउन सकेको छैन् । यो सरकार काम गर्न भन्दापनि गफ र भाषणमा धेरै सफल भएको छ । यथार्थमा यसले जनतामा कुनै अनुभुति हुने काम गरेको छैन् ।’
नेता लेखकले सरकारको पहिलो जिम्मेवारी भनेको नै मुलुकमा शान्ति, सुरक्षा कायम गर्नु भएको बताउँदै यही महत्वपूर्ण काममा नै सरकार असफल भएको दाबी गरे । उनले भने,‘अपराध न्यूनिकरण गर्ने र अमनचयन कायम गर्न सरकार असफल भयो ।’ निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका महिना बितिसक्दापनि सरकारले अपराधी पत्ता लगाएर कारबाही गर्न नसकेको उनको आरोप छ ।
उनले भने,‘एकपछि अर्को आयोग बनाउने काम गर्यो, तर आयोगले बुझाएका प्रतिवेदन निबन्धजस्तो मात्रै भयो । सरकार आफ्नो दायित्वबाट पूर्ण रुपमा च्यूत भयो ।’
उनले भने,‘भारत र चीनबाट कति वर्षमा रेल आउँछ भन्ने कुरा हामीलाई पनि थाहा छ, यो सरकारसँग कुनै तथ्य र तथ्यांक छ त ? तर, यहाँ त भोलि विहानै काठमाडौंमा रेल आउँछ जसरी भाषण गर्ने काम भैरहेको छ ।’
वर्तमान सरकारले पत्रकारिता, अदालतलगायतका महत्वपूर्ण क्षेत्रमा धावा बोल्ने काम गरेको पनि उनको आरोप छ । उनले भने,‘यो सरकारले सर्वसत्तावादी चरित्र देखाईरहेको छ । महत्वपूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने र सबै अंगलाई आफ्नो कब्जामा राख्ने काम गरिरहेको छ ।’
एकपछि अर्कोगरि भ्रष्टाचारका कुरा बाहिरिँदा पनि वर्तमान सरकार निरीह बनेको उनको अर्को आरोप छ । उनले भने,‘यो एक वर्षमा सरकार पूर्ण रुपमा असफल भएको छ । भाषण र उखान टुक्कामा अत्यधिक सफल तर, काममा अत्यधिक असफल भएको छ ।’
आफ्नो पार्टीभित्रको आन्तरिक कुरामा टिप्पणी गर्दै नेता लेखकले कांग्रेसमा अहिले समस्या र जटिलताहरु रहेको स्विकार गरे । उनले भने,‘कांग्रेसले प्रतिपक्षीको भूमिका पनि राम्रोसँग निर्वाह गर्न सकेन । हामीले यो कुरा स्विकार्नैपर्छ । हामी आफ्नो भूमिका र जिम्मेवारीमा शतप्रतिशत हिँड्न नसकेकै हो ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने घोषणा गरेका छन् ।
उनले भने,‘एकता प्रक्रिया अलिकति ढिला भएकै हो । ढिला हुनुपनि स्वभाविक नै हो । दुई ठूला भिन्न भिन्न पार्टी मिल्ने कुरा सजिलो थिएन् । हामीले एकताको अत्यधिक काम पूरा गरिसकेका छौं । अब जनवर्गीय र स्थानीय तहको हकमा नेतृत्व टुँगो लगाउने काम बाँकी छ । त्यो पनि टुँगो लगाउनेगरि शीर्ष तहमा गम्भिरतापूर्वक छलफल भैरहेको छ ।’
रायमाझीले सरकारले विकास र समृद्धिको हकमा पहिलो वर्ष जग हाल्ने काम गरेको र आगामी दिनमा जनताले अनुभुति गर्नेगरि विकास गर्ने दाबी गरे । उनले भने,‘जनताका अपेक्षाहरु धेरै छन् । सरकारले काम गरिरहेको छ । यो सरकार पूरानो संरचनाको सरकार होईन । सरकारले राष्ट्र निर्माणको ठूलो बहस छेडेको छ । भाषण र सपना देख्नु नराम्रो होईन । यो त बुझाउने कुरा हो । यो त अभ्यासपनि हो । यो अर्थमा सरकार काफी मात्रामा सफल भएको छ ।’


















