श्रीमानद्वारा दाइजोको निहुँमा श्रीमतीलाई मट्टीतेल छर्केर आगो

127

धनुषा- धनुषाको शहिदनगर नगरपालिका वडा नं। १ वडा चिरैया टोलमा दाइजो (दहेज) नदिएको निहुँमा विवाद हुँदा श्रीमानले श्रीमतीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ।

शहिदनगर नरपालिकाका स्थानीय झरी गोईतका २३ बर्षिय छोरा मुकेश कुमार गोईत (यादव) ले आफ्नै श्रीमती २१ वर्षिया निर्मला देवी गोईत (यादव) लाई जीउमा आगो लगाएर जलाइदिएका हुन्। गत बैशाख ५ गते दिउँसै मुकेशले आफ्नी श्रीमति निर्मलालाई कोठा बन्द गरी जिउमा मट्टीतेल छर्केर आगो लगाई फरार भएका थिए।

निर्मलालाई ढोका थुनी आगो लगाएपछि छिमेकीहरुले चिच्याएको आवाज सुनेपछि ढोका फोडेर तत्कालै आगो निभाएका थिए। तत्कालै निर्मलाको उद्धार गरिए पनि छाती र पेटसम्म करिब ३५ प्रतिशत भाग जलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाकारी दिएको छ।

निर्मला र मुकेशको विहे भएको १० महिना मात्र भएको थियो । इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवका अनुसार दाइजो दिएरै विवाह भएपनि थप मागसहित निर्मलालाई दाइजो ल्याउने दबाब थियो। सोही क्रममा सुरालीबाट मागअनुसार समान ल्याउन समय लगाएको कारण जलाएको हुनुपर्ने प्रहरीको अनुमान छ।

फरार भएका मुकेशको खोजी कार्य तीव्र पारिएको छ। धनुषाकै कमला नगरपालिका वडा नं। ५ लक्कड टोल बस्ने निर्मलालाई मुकेशसँग ४ लाख रुपैयाँ बढी दाईजो दिएर धुमधामका साथ बिहे गरिएको थियो। निर्मलाको पारिवारिक श्रोतका अनुसार मुकेशले निर्मलासँग सामान्य झगडाको निहुँ खोज्दै मट्टितेल छर्केर आगो लगाएका थिए।

निर्मलाको उपचारको लागि छिमेकीको सहयोगमा तत्कालै जनकपुर अञ्चल अस्पताल ल्याइए पनि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो। आगोबाट जलेर गम्भीर भएकी निर्मलाको उपचार अहिले शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा भईरहेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी नीरिक्षक यादवले जानकारी दिए।

अस्पतालमा उपचारमा संलग्न चिकित्सक डा। सुरेन्द्रजंग बस्नेतका अनुसार निर्मलाको ३५ प्रतिशत बढी शरीर जलेको जानकारी दिए। ३५ प्रतिशत भन्दा बढी जलेको स्वास्थ्य अवस्था गम्भिर रहेको जनाएको छ।

चिकित्सकलाई उदृत गर्दै प्रहरी उपरिक्षक यादवले भने, ‘निर्मलाको जलेका भागको मासु झिकेर छाला प्रत्यारोपण गर्नुपर्छ। तर यसमा ढिलो गरियो भने मासु कुहिएर संक्रमण फैलने डर हुन्छ । विस्तारै मुटु, मिर्गौला, छातीमा हान्न सक्छ’, तर छाला परिवर्तन गर्न परिवारले अनुमति दिइसकेको भएको छैन।’ उनको परिवारजनको तर्फबाट सर्जरी (छाला प्रत्यारोपण) को लागि अनुमति भएसँगै निर्मलाको सर्जरी गरिने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here