काठमाडौं । प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री राईले आइतबार खोनपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीमा रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु लङवा (लिम्बु), कृषि मन्त्रीमा झलक बहादुर मगरलाई नियुक्त गरेका हुन्।
यस्तै, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा शेखर चन्द्र थापा, उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेलाई नियुक्त गरेका हुन्।
यसअघि मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्र बहादुर आङवो, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, स्वास्थ्य मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे रहेका थिए।
एमाले नेता भीम आचार्यलाई हटाएर गएको कात्तिक १६ मा राई मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई कांग्रेस, माओवादी र जसपाका ४९ जना सांसदको समर्थन छ।


















