नेपाली स्याटलाईट अन्तरिक्ष केन्द्रमा जोड्न सफलता

309

काठमाडौं- अन्तरिक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाईट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाईट वान पृथ्वीको सतहबाट चार सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो।

जापानमा विद्यावारिधि गरिरहनु भएका नेपाली बैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेका सो नेपाली स्याटेलाईट वान गत बैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि पठाइएको थियो। सो स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख छ गते नेपाली समय अनुसार दिउँसो तीन बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा। सुरेशकुमार ढंगेलले जानाकारी दिए। अबको करिव डेढ महिना पछि सो नेपाली स्याटलाईटले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ।

नाष्टले सो नेपाली स्याटलाईट अन्तरिक्षमा प्रक्षेपणका लागि करिव दुई करोड लाग्ने अनुमान पनि गरेको छ। नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भईसकेको पनि जानकारी दिए। विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाईट अन्तरिक्षमा पठाएको हो।

यसैबीच, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मरण गर्दै सोही दिन भूकम्पीय जोखिम न्यूनिकरणसम्बन्धि अन्तरक्रिया कार्यक्रम पनि आयोजना गर्ने भएको छ। नाष्टका प्रवक्ता ढुंगेलले नेपाल भौगर्भिक समाजको सहकार्यमा आयोजना गर्न लागिएको सो कार्यक्रम भूकम्पीय जोखिम न्यूनिकरणका लागि उपयोगी हुने पनि स्पष्ट पारेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here