तपाईंको टाउको दुख्छ ?

1131

– आर.पी. मैनाली

तीव्र सामाजिक र आर्थिक परिवर्तन, आधुनिकीकरण, अत्याधुनिक सञ्चारको पहुँच, अस्वाभाविक/अव्यवस्थित सहरीकरण, असीमित इच्छा र आकांक्षा, अस्वस्थ प्रतिस्पर्धा, अप्राकृतिक जीवनशैली र खानपान आदिका कारण नेपाली समाज पनि अछुत हुने कुरै भएन । ती कारकहरूको उपजस्वरुप नेपाली जनमानस  सबैमा तनाव, बेचैनी र टाउको दुखाइ अत्यधिक रुपमा बढ्दै गएको जगजाहेरै छ । यसै परिपे्रक्ष्यमा टाउको दुखाइसम्बन्धी यस विवेचनात्मक आलेख यहाँ प्रस्तुत गर्नु सान्दर्भिक होला भन्ने ठान्दै प्रस्तुत गरिएको छ ।

– मलाई टेन्सन भयो यार ।
– आज कामको स्टे«सले टाउकै दुख्यो ।
– टाउको दुखेर वाक्कै भइसकेँ ।
– रगत जाँच्नेदेखि लिएर ‘सिटिस्क्यान’, ‘एमआरआई’ सम्म गरेर धेरै पैसा खर्च गरिसकेँ र पनि टाउको दुखाइ ठीक भएन ।
– के गर्ने होला ?

यी वाक्यांशहरू आज भोलिका प्रचलित अभिव्यक्ति हुन् । स्वास्थ्य विज्ञानअनुसार पनि मान्छेलाई सबैभन्दा बढी पिरोल्ने लक्षण टाउको दुखाइ नै हो । तर, चिकित्सा शिक्षामा त्यति ज्ञान नभएका व्यक्तिहरू भने यसलाई कि त गिदीको समस्या हो या आफैंमा एउटा रोग हो भन्ने भ्रममा पर्छन् ।

यो लेख यहाँ प्रस्तुत गर्नुको कारण व्यक्तिलाई गलत भ्रमबाट मुक्तपारी परीक्षणको नाममा अन्धाधुन्धा पैसा बर्बाद गर्नबाट बचाउनुका साथसाथै आफ्नो मनभित्रका विचार र भावनालाई नियाली बुझ्न उत्प्रेरित गर्नु हो । किनकि, टाउको दुखाइको ९८ दशमलव ५ प्रतिशत कारण मानसिक समस्या वा रोग हो । यदि टाउको दुखाइ ६ महिनाभन्दा बढी समयसम्म निरन्तर रुपमा छ भने झण्डै शत प्रतिशत नै मानसिक कारण हुनसक्छ ।

जीवनको कुनै न कुनै क्षणमा झन्डै शत प्रतिशत व्यक्तिले टाउको दुखाइको अनुभव गरेको हुन्छ । यो एउटा विश्वव्यापी समस्या हो । हामी सुरुसुरुमा त कुनै खास महत्व दिँदैनौं र ‘पेन किलर’ खाएर टाछौं, तर जब टाउको निकै साह्रो दुख्छ वा यदि दुखाइ नियमित हुन थाल्छ, यो विकराल समस्याका रुपमा अगाडि आउँछ र ‘ट्युमर’ नै हो कि भनेर आँत्तिन्छौं । वर्षौं टाउको दुखाइको समस्याबाट पीडित रहेका व्यक्ति, उपचार गराएर पनि टाउको दुखाइबाट मुक्ति नपाएर ‘सिटिस्क्यान’, ‘एमआरआई’ लगायतका विभिन्न आधुनिक रोग अन्वेषणका रिपोर्टहरूका भारी बोकेर विभिन्न उपचार गृहहरूमा भौंतारिरहेका देख्न सकिन्छ ।

कसरी दुख्छ त टाउको ?
धेरै मानिसहरूको भ्रम के छ भने टाउको दुख्नु भनेको गिदी दुख्नु हो । वास्तवमा गिदीमा कुनै संवेदना पु¥याउनसक्ने क्षमता नै छैन । शल्यचिकित्सकहरूको भनाइअनुसार गिदीको शल्यक्रिया गर्दा यसलाई ‘एनेस्थेसिया’ अर्थात् संवेदनाश गर्नुपर्ने आवश्यक पर्दैन । टाउको दुखाइ वास्तवमा गिदीभन्दा बाहिर रहेका ‘रिसेप्टर’ हरूको उत्तेजनाबाट हुने हो । र, मांशपेशीहरू हाम्रो मस्तिष्क तनावयुक्त भएका बेला बढी कसिने गर्छन् । त्यस्तै रिसेप्ट्रहरू टाउकोका अरू विभिन्न भागहरूमा हुन्छन्, जस्तै छाला, आँखा, कान (भित्री, बाहिरी), जोर्नी, दाँत, जिब्रो, साइनस (हाडभित्र हावा भरिने ठाउँ), मेरुदण्डका माथिल्ला हाडहरू आदि । चस–चस घोच्ने, कञ्चटमा चट्किने, टाउको भारी भइरहने, टाउको पोलेको–पोलेको जस्तो हुने आदि विभिन्न प्रकारले टाउको दुख्ने गर्छ ।

दुखाइको तीव्रता
टाउको दुखाइको तीव्रता फरक–फरक प्रकारको हुन्छ । कसैलाई सहन सक्ने गरी भारी हुन्छ । तर, कसैलाई यति बेस्सरी टाउको दुख्छ कि उसले आफ्नो टाउको दुखाइ शान्त पार्न कपाल लुछ्ने या टाउको कुनै साह्रो वस्तुमा ठोक्काउने पनि गर्नसक्छ ।

दुख्ने कारणहरू
माथि भनेझैं टाउको दुख्नु एउटा लक्षण मात्र हो । अहिलेसम्म पत्ता लागेका कुनै पनि रोगहरूका कारण टाउको दुख्न सक्छ । त्यसैले सम्पूर्ण कारणहरू उल्लेख गर्न सम्भवै हुँदैन । तसर्थ प्रमुख कारणहरू मात्र यहाँ उल्लेख गरिन्छ ।

दुखाइ र मानसिक रोग
रोगहरूको अन्तर्राष्ट्रिय वर्गीकरणको दशौं प्रकाशन ‘आईसीडी–टेन’ अनुसार नेपाललगायत विभिन्न देशहरूमा दीर्घ रुपमा टाउको दुख्ने व्यक्तिहरूमध्ये ८२ प्रतिशतलाई लाई टाउकोको मांसपेशीको तनावका कारण टाउको दुखेको पाइएको छ । यसलाई ‘टेन्सन हेडेक’ पनि भनिन्छ । त्यस्तै १६ प्रतिशत ‘माइग्रेन’ बाट पीडित भएको पाइएको छ । यस प्रकार निकै कम व्यक्तिहरू यी दुईबाहेक अन्य समस्याका कारणले टाउको दुखाइ भोग्दा रहेछन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यी दुवै खालका दुखाइ ज्यानका लागि खतरनाक छैनन् । तर, यी दुवै प्रकारका दुखाइ मानसिक कारणको उपज भएका हुनाले ‘क्रोनिक’ रूप लिँदै जान्छन् ।

तनावका कारण दुख्ने टाउको ‘टेन्सन हेडेक’ का मुख्य दुई कारणहरूमा मानसिक रोगहरूः डिप्रेसन र एनजाइटी अर्थात् आत्तिने रोग हुन् । हाम्रो जस्तो समाज, जहाँ मनको विचार र भावना पोख्ने प्रवृत्ति कम छ, मानिसहरूमा यी नकारात्मक समवेदनाहरू थुपिँ्रदै जान्छन् र साह्रै नै भएपछि टाउको मात्र होइन जिउका अरू भाग पनि दुख्न थाल्छन् । पेन किलरजस्ता औषधि खाएर ४/५ घण्टालाई ठीक हुन्छ, तर दुखाइ भने रहिरहन्छ । यदि डिप्रेसन र एनजाइटीलाई नै उपचार ग¥यो भने टाउको दुखाइ सदाका लागि हराउँछ ।

यसबाहेक केही टाउको दुखाइ स्थितिजन्य पनि हुन्छन्; जुन मान्छेको मानसिक अवस्था वा व्यक्तित्वसँग सम्बन्धित हुन्छ । कसैको टाउको दुखाइ रिस उठेपछि हुन्छ, कसैलाई पुस्तक, पत्रिका आदि अध्ययन गरेपछि हुन्छ । त्यस्तै कसै–कसैले शारीरिक थकाईले गर्दा टाउको दुख्यो भन्छन् । तर, वास्तवमा थकाइ भने डिप्रेसनको कारणले हुन्छ । कोहीलाई घाममा बढी हिँडेमा वा अफिसमा गएका बेला दुखाइ तीव्र हुन्छ ।

जे भए पनि झण्डै शत प्रतिशत टाउको दुखाइका कारण मानसिक रोग वा समस्या भएको प्रमाणित भइसकेको छ । डिप्रेसन र एनजाइटीको प्रश्नावलीको प्रयोग गरेर मानसिक रोग विशेषज्ञले करिब आधा घन्टाभित्रै व्यक्तिको मानसिक स्थिति सजिलै पत्ता लगाउन सक्छन् र स्थितिको ज्ञान भएपछि टाउको दुखाइको सजिलै उपचार गर्न सक्छन् । त्यसैले टाउको दुखाइ या त मानसिक रोगको एउटा लक्षण हुनसक्छ वा स्थितिजन्य हुनसक्छ ।

टाउकोका विभिन्न भागहरूमा समस्या र दुखाइ
आँखा, नाक, कान वा अरु भागहरूमा भएको रोगहरूका कारणले पनि कहिलेकहीँ टाउको दुख्न सक्छ । जस्तैः दृष्टि कमजोर, आँखाका मांसपेशीहरूको कमजोरी, कानको संक्रमण, साइनसको संक्रमण, दाँतको समस्या आदि । ज्वरो आएका बेलामा टाउको दुख्नु, शारीरिक तापक्रमको कारणले हुनसक्छ । यस्तो बेलामा यी रोगका अरू लक्षणहरू पनि देखापर्छन् । सम्बन्धित समस्या निराकरण हुनासाथ टाउको दुखाइ पनि निको हुने हुन्छ ।

टाउकोमा लागेको चोट र दुखाइ
टाउकोमा लागेको चोटका कारणले गर्दा हुने टाउको दुखाइ त सर्वविदितै छ । टाउकोमा चोट लागेपछि यदि घाइते बेहोस भएको छ र बेला–बेलामा बान्ता पनि गरिरहेको छ भने मस्तिष्कको कुनै भागमा रक्तश्राव भएको या सुन्निएको हुन सक्ने बढी सम्भावना हुन्छ । बाहिरी चोट नदेखिए पनि यस्तो अवस्था निकै खतरनाक हुने भएकोले घाइतेलाई तुरुन्त अस्पताल लगिहाल्नुपर्छ ।

ट्युमर, सङ्क्रामक रोग र दुखाइ
मस्तिष्कभित्र कुनै कारणले चाप बढेमा टाउको दुख्न सक्छ । मस्तिष्कभित्रको रासायनिक तरल पदार्थको टयुमर वा सङ्क्रमणले रोकावट ल्याउन सक्दछ । यसले तरल पदार्थको मात्रा बढाई दिन्छ र गिदीमा चाप दिन्छ । यसको कारणले टाउको दुखाइ विस्तारै बढ्दै जान्छ । तर, यो अवस्थामा अन्य लक्षणहरू पनि हुन्छन् । जस्तैः होस हराउने, बान्ता हुने, प्रायःजसो टाउको भारी भइरहने र सो भारीपन प्रायः बिहान सबेरै बढी हुने ।

रासायनिक गडबडी
शरीरमा रासायनिक गडबडी भएर पनि टाउको दुख्न सक्छ । जस्तैः अक्सिजनको कमी, चिनीको कमी, आदि । ‘डाइलेइसिस’ गरिरहेका बिरामीहरूमा पनि रासायनिक गडबडीले गर्दा टाउको दुख्ने हुनसक्छ । मादक पदार्थमा बानी परेका व्यक्तिले मादक पदार्थ नपाउँदा पनि टाउको दुख्ने हुन्छ । यस्तो टाउको दुखाइ शरीरमा हुने रासायनिक गडबडीसँग सम्बन्धित छ । रासायनिक गडबडीको पहिचान र निदान नै टाउको दुखाइका यी अवस्थाहरूको उपचार हो । महिनावारी हुन अगाडिको टाउको दुखाइ चाहिँ ‘हार्मोन’ को गडबडीसँग सम्बन्धित छ ।

उच्च रक्तचाप र दुखाइ
उच्च रक्तचापलाई पनि टाउको दुखाइको एक कारक मानिएको छ । तर उच्च रक्तचाप भएकाहरूमध्ये निकै सानो संख्यालाई मात्र टाउको दुख्ने हुन्छ । अझ विडम्बनाको कुरा के छ भने रक्तचाप बढ्नुको कारण पनि धेरैजसो मानिसक तनाव वा ‘स्टे«स’ नै हो । उच्च रक्तचाप पनि टाउको दुखाइ झैँ एउटा रोग नभई लक्षण मात्र हो । तर, मानिसहरू यसलाई रोगको संज्ञा दिएर औषधि खाएर पन्छाउन खोज्छन् । किनकि, बेवास्ताका कारणले उनीहरू आफ्नो मनको समस्या र जीवनशैलीमा ध्यान र समय दिन चाहँदैनन् । उच्च रक्तचापले हुने टाउको दुखाइ पछिल्लो भागमा केन्द्रित हुन्छ । तर, टाउको दुख्न सुरु भएपछि आत्तिएर रक्तचाप परीक्षण गराउनेमध्ये कतिको त रक्तचाप बढेको पनि हुनसक्छ ।

उपचार
माथिको वर्णनबाट यो स्पष्ट हुन्छ कि टाउको दुखाइ आफैंमा रोग नभई विभिन्न रोगहरूका लक्षण हो । त्यसैले उपचार पनि सोहीअनुसार गरिनुपर्छ । कुनै रोगको लक्षणको रुपमा उब्जिएको टाउको दुखाइ त्यो रोगको उपचारपछि निको हुने हुन्छ । ‘पेन किलर’ मात्र खाइरहने हो भने त्यसको नकारात्मक असरको भार वहन गर्नुपर्ने हुन्छ ।

हाल नेपालमा टाउको दुखाइको उपचारका लागि केही मनोवैज्ञानिक केन्द्रहरू पनि खोलिएका छन् । यी केन्द्रहरूमा ‘रिल्याक्सेसन’ का विभिन्न विधिहरूद्वारा उपचार गरिन्छ । त्यस्ता उपचार प्रविधिहरूद्वारा दीर्घकालीन रूपमा पूर्ण सफलता मिल्नसक्छ । तर, क्षणिक रूपमा दुखेका बेला भने औषधिको पनि जरुरत हुन्छ । टाउको दुखाइ एक सर्वव्यापी समस्या भए पनि यसमाथि पूर्ण विजय प्राप्त हुन सकेको चाहिँ छैन । यसको मुख्य कारण हामीलाई मानसिक स्वास्थ्यबारे ज्ञानको कमी हुनु हो । यो ज्ञानको कमी भएको ठाउँमा पनि उपलब्ध उपचार पद्धत्ति र औषधिद्वारा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।

उपचारका लागि मनोवैज्ञानिक, मनोशारीरिक परामर्श, विविध निदानात्मक पद्धतिहरू अपनाउँदै बिरामीको विचारमै परिवर्तन गराउनु पर्ने हुनसक्छ । त्यसका लागि मनोचिकित्सक, स्नायु चिकित्सक र मनोवैज्ञानिक परामर्शदाताको संयुक्त प्रयासबाट सबैखाले टाउको दुखाइको निदान र सफल उपचार गर्न सकिन्छ । नर्भिकमा यी सबै उपचारात्मक पद्दतिहरू उपलब्ध छन् ।
लेखक नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलको संस्थागत सञ्चारसँग आबद्ध छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here