पुष्पलताको ६२औं उपन्यास ‘आफ्नै संसार’

368

काठमाडौं /  साहित्यकार पुष्पलता आचार्यको ६२औं कृति ‘आफ्नै संसार’ नामक सामाजिक उपन्यासको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । रातो टीका तथा सिन्दूर आन्दोलनकी अग्रणी ६१ बर्षीय जवानसाहित्यकार आचार्यको ६२औं कृति लोकार्पण कार्यक्रममा आचार्यले अरु कृतिहरु थप्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

Image may contain: 5 people, including Nimkant Pandey, people sittingनेपाली समाजमा विलकुलै नयाँपन र नयाँसोचको धारवाट सिर्जना भएको नवीनतम आधुनिक पुस्ताको सर्वोत्तम उपन्यासको रुपमा ‘आफ्नै संसार’ प्रकाशित भएको वक्ता समीक्षकहरुले जनाएका थिए । यस उपन्यासमा उपन्यासकार पुष्पलता आफै पात्रको रुपमा केन्द्रित रहेको अनुमान पाठकहरुले गर्न सकिने छ ।

प्रायः यात्रामा रमाउने पुष्पलता आचार्यको चितवनको मुग्लिनमा गाडी अचानक ठोक्किएको र गाडीसँग ठोक्किन आउने व्यक्तिसँगको साक्षात्कार पछि उर्लेको प्रेम भावना तथा साहित्यिक तरंगको छालमा सिर्जना भएको सामाजिक उपन्यास ‘आफ्नै संसार’ पुष्पलताको नारी भावनाको उत्तार–चढावको बेग्लै संयोगको रुपमा चर्चा पाएको छ । जसमा नारी मनभित्रको ज्वारभाटाहरु सागरको पिंधमा जस्तै उथलपुथल हुनुको अलावा विपरीत लिङ्गप्रतिको आकर्षण अनि त्यसलाई दबाउन खोज्दाको उकुसमुकुसलाई यस सामाजिक उपन्यासमा प्रस्तुत गर्ने कार्य आफूले गरेको जिकिर उपन्यासकार पुष्पलता आचार्यले लोकार्पण कार्यक्रममा दावी गरिन् । १ सय ४४ पृष्ठको सामाजिक उपन्यास ‘आफ्नै संसार’लाई सिमल बुक पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।

लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भ्रष्टाचारविरोधी अभियन्ता भरत जंगमले पुष्पलता आचार्यको साहित्यिक यात्राको बारेमा चर्चा गर्नुहुँदै पछिल्लो कृति ‘आफ्नै संसार’ले आचार्यलाई साहित्यिक क्षेत्रमा थप उत्साहित गराएको धारणा राख्नुभएको थियो । जनधारणा साप्ताहिक सम्पादक निमकान्त पाण्डेले पुष्पलता आचार्यको साहित्यिक यात्राबारे चर्चा गर्दै पुष्पलताका रचनाहरु धेरैजसो उनको आफ्नो जीवनीसँग जोडिएका घटनाहरुमा आधारित रहेको आफूले महसुस गरेको जानकारी गराउँदै पछिल्लो कृति ‘आफ्नै संसार’ पनि त्यसैको निरन्तरता रहेको धारणा राख्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार शैलेन्द्र साकारले पुष्पलताको साहित्यिक यात्राबारे प्रकाश पार्नुहुँदै पछिल्लो कृति ‘आफ्नै संसार’बाट पुष्पलताले आफूलाई आफ्नो उमेरभन्दा एउटा कृति बढी जन्माउन सफल भएकोमा बधाई दिनु भएको थियो । साहित्यकार महादेव अधिकारीले उपन्यास ‘आफ्नै संसार’बारे छोटकरीमा समीक्षा गर्दै पुष्पलताको जीवनीबारे जानकारी गराउनुभएको थियो । साहित्यकार कमल ढकालले कार्यक्रमको सञ्चालन शुभारम्भ गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here