काठमाडौ, चीनको महत्वकांक्षी विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभमा नेपालको प्रस्ताव पारित भएको छ । चीनमा सञ्चालित अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरमको अन्त्यमा जारी संयुक्त प्रतिवद्धतामा नेपालको ट्रान्स हिमालय कनेक्टिभिटी र रेल्वे कनेक्टिभिटीलाई बीआरआई परियोजनामा जोड्नुपर्छ भन्ने प्रस्ताव पनि पारित भएको हो । सन २०१७ मइ देखि बेल्ट एण्ड रोड इनिसिएटिभमा जोडिएको नेपालले बीआरआईमा उक्त प्रस्ताव राख्दै आएको थियो । नेपाल सहित करिब ४० देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मेलित कार्यक्रमको अन्त्यमा जारी गरिएको ३८ बुँदे प्रतिवद्धता पत्रमा उल्लेखित ६४ परियोजनामा नेपालको प्रस्ताव पनि उल्लेख गरिएको छ । यससँगै अब नेपाल बीआरआईको एउटा महत्वपूर्ण पाटो बनेको छ । बीआरआईमा नेपालको प्रस्ताव स्वीकृत हुनुलाई विज्ञहरुले सुखद पक्ष भनेका छन् । तर यसको कार्यान्वयनको पाटो हेर्न बाँकी रहेकाले त्यसपछि मात्र यसका बारेमा थप बोल्न सकिने विज्ञहरुको तर्क छ । चीनले अघी सारेको महत्वकांक्षी योजनामा नेपालको महत्वपूर्ण प्रस्ताव पारित हुनुले नेपालमा रेल लिंक र कनेक्टिभिटिका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ ।