काठमाडौं- वीर अस्पतालले १ रुपैयाँमै खाद्यान्न खुवाउने गरी ठेक्का सम्झौता गरेको छ । सोही अनुसार तीनवटा फर्मले ई-टेण्डर दर्ता गराएका थिए । न्यु सुयोग, न्यु आरके र महाँकाल सप्लायर्सको टेण्डर परेकोमा सबैभन्दा कम १ रुपैयाँमै हरेक खानेकुरा खुवाउन तयार भएको सुयोगलाई खाद्यान्न सप्लाईको ठेक्का दिइएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले विरामीलाई एक वर्षभरि खान खुवाउन आवश्यक खाद्यान्नका लागि गत माघ ८ मा सार्वजनिक सूचनामार्फत ई-टेण्डर आह्वान गरेको थियो । जसमा टेण्डर भर्न इच्छुक फर्मको उद्देश्य अनिवार्य रुपमा खाद्यान्न सप्लाई हुनुपर्ने र कम्तिमा तीन वर्ष खाद्यान्न सप्लाई गरेको हुनुपर्ने भनिएको थियो ।
उक्त कम्पनीले एक किलोग्राम चनाको १ रुपैयाँ र एउटा अण्डा एक पैसामा उपलव्ध गराउने सम्झौता गरेको छ । त्यस्तै जिरा, बेसार, लसुन, अदुवा, नुन, चिनी गहुँको पिठो र खाने तेल पनि १ रुपैयाँ किलोको दरले उपलब्ध गराउने गरी ठेक्का पारेको छ ।

















