काठमाडौ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्ने जनाएका छन् ।
पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पारे ।
सरकारले छुट्टै छानविन समिति बनाएर घटनालाई लुकाउने शङ्का उत्पन्न भएको बताउनुहुँदै उनले भने, “घटनामा संलग्न जोसुकै भए पनि काङ्ग्रेसले छाड्दैन”, सभापति देउवाले जनताको इच्छा र चाहनाअनुसार काम गर्न नसकेका कारण सरकार विभिन्न विवादमा फस्दै गएको आरोप लगाए ।
उनले सरकारले शिक्षा, सञ्चार, प्रहरी सङ्गठनलगायतका क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसका विरुद्ध काङ्ग्रेसले अब देशभर आन्दोलन शुरु गर्ने बताए । सरकारले कर बढाएर उद्योगी व्यापारीलाई दुःख दिएको देउवाको आरोप थियो ।


















