काठमाडौं / लुट्न सके लुट कान्छा , लुट्न सके लुट भन्ने चर्चित गीतलाई चरितार्थ बनाउने गरी अर्को एउटा पाटो खुलासा भएको छ । खुलामञ्चमा अवैध सटर बनाएर भाडामा लगाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले कांग्रेस नेता प्रकाशमान सिंहको सहयोगमा आकाशे पुल लगायत अन्य विभिन्न ठाँउबाट समेत लाभ लिन सफल भएको खुलासा भएको छ । उनले काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरी भाडा उठाउने ठेक्का पाएको जानकारी भएको छ ।
भेटवालले नेपाली कांग्रेसका नेता एवम् तत्कालीन उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको सहयोगमा रत्नपार्क ९पुरानो बसपार्क० मा रहेको सिटीमार्केटमा रहेका सटरहरूको भाडा असुल्दै आएको खुलासा भएको छ ।
उनले सिटी मार्केटका ५०–६० वटा सटरहरू महानगरबाट सस्तोमा ठेक्का लिएर ५० देखि १ लाखसम्म भाडा लिने गरेका छन् । भेटवालले एउटा सटरको भाडा काठमाडौं महानगरपालिकालाई दश हजारसम्म मात्र तिर्ने गरी तत्कालीन स्थानीय विकास मन्त्री सिंहको सहयोगमा सम्झौता गरेको खुलेको छ ।
ठेकेदार भेटवालले विगत १०–१५ वर्षदेखि महानगरपालिकाका कर्मचारीहरूलाई समेत प्रलोभनमा पारेर सिटी मार्केटका सटरहरूमा चर्को भाडा असुल्दै आएको पाइएको छ ।
यसमा काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख रुद्रसिंह तामाङको समेत मिलोमतो रहेको महानगर स्रोतले जनाएको छ ।
















