प्रेसप्रति सरकार अनुदार बन्न किन खोजिरहेको छ ?

72

-निमकान्त पाण्डे

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ लगायतका प्रेससँग सम्बन्धित संघसंस्थाहरुले हिजो प्रभात फेरीको आयोजना गरी मनाएका छन् । मे ३ मा पर्ने प्रेस स्वतन्त्रता दिवसलाई लिएर विश्वभर स्वतन्त्र प्रेसका पक्षमा विभिन्न कार्यक्रमहरु आयोजना हुने गरेका छन् ।

विश्वमा प्रजातन्त्र र सुशासनका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रेस जगत शासकहरुबाट भने जहिले पनि दमनमा पर्ने गरेको छ । त्यो कुरा नेपालको हकमा पनि लागु भएको देखिन्छ । नेपालमा प्रजातन्त्र स्थापना पछि केही वर्ष राम्रैसँग फक्रिएको प्रेस जगत ३० वर्षे पञ्चायती व्यवस्थामा सधै निषेध र नियन्त्रणमै रहन बाध्य बन्यो । प्रजातन्त्रको पुनर्बहाली पछिको केही समय नेपालको प्रेस जगतका लागि स्वर्णीम समय नै बन्यो ।

पहिले मिसन पत्रकारितामा सिमित हुने प्रेस जगत कर्पाेरेट हाउसका रुपमा विकास भयो, ठूला–ठूला मिडिया उद्योगहरु स्थापना भए र अनियमितता, भ्रष्टाचार, सुशासन र सुसंस्कृत राजनीतिक व्यवस्थाका बारेमा मिडिया जगतले निरन्तर खबरदारी गर्दै आयो । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला पुनः एक पटक प्रेस जगतमाथि नियन्त्रण र प्रतिबन्ध लगाउन खोजियो । जनताको परिवर्तनको आकांक्षाका सामु राजाको प्रत्यक्ष शासनको पनि केही लागेन ।

०६२÷०६३ का बेला भएका आन्दोलनलाई प्रवद्र्धन गर्न प्रेसले खेलको भूमिकाकै कारण अन्ततः लोकतन्त्रको स्थापना भयो । नेपालमा भएका परिवर्तनका ठूला आन्दोलनमा प्रेसको भूमिका निकै महत्वपूर्ण रहँदै आएको छ । व्यवस्था परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रेस जगत एउटा व्यवस्थाबाट अर्काे व्यवस्थामा प्रवेश गरेर शासकीय प्रणाली स्थापित भएपछि भने त्यही सत्ताको निशानामा पर्ने गरेको छ । विगतदेखि हालसम्मका शासकहरुको प्रेसप्रतिको नीतिले यही कुरालाई पुष्टि गर्छ । अहिले पनि प्रेस जगत निकट विगतको भन्दा पनि अझै सकसपूर्ण समस्याबाट पीडित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।

राजनीतिक परिवर्तनसँगै स्थायी सरकारको स्थापना भएको छ । सरकारलाई बेलगाम हुनबाट रोक्न प्रेसले खबरदारी गर्दै आएको छ । यसको बदलामा सरकार प्रेसमाथि नियन्त्रणको रवैया अवलम्बन गर्दै आइरहेको छ । पछिल्लो समय समाचार लेखेकै भरमा पत्रकारहरुको गिरफ्तारी, सरकारी सञ्चार माध्यमका नाँउमा सरकारलाई असर पर्ने गतिविधिलाई ठाउँ नदिन गरिएका निर्देशन, सञ्चार माध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनबापतको रकम भुक्तानीमा भइरहेका अवरोध लगायतका गतिविधिले वर्तमान सरकार प्रेसप्रति कठोर हुन खोजिरहेको संकेत मिलिरहेको छ ।

आजका शासकहरुलाई सत्तामा पुग्न सहज वातावरण सिर्जना गरिदिने प्रेस जगत आज शासकको नजरमा गलत बनिरहेको छ । जबकी प्रेस भनेको समाजको ऐना हो । जसले समाजमा के भइरहेको छ भन्ने कुराको प्रतिविम्ब देखाउने काम मात्र गर्छ । समाजमा के भइरहेको छ ? त्यो गलत छ वा सही छ भन्ने कुरा पत्ता लगाउन सरकारलाई नै सहयोग गर्ने प्रेस जगतमाथि सरकार आक्रामक बन्न खोज्नु र नियन्त्रणको नीति अवलम्बन गर्नु भनेको सरकार समाजप्रति उत्तरदायी छैन भन्ने संकेत हो ।

हिजो सत्ता बाहिर हुँदा त्यही प्रेस जगतको सहयोग लिने व्यक्ति आज सरकारको नेतृत्व गरिरहँदा प्रेसले प्रश्न गरेको मनपराउँदैनन् । जुन कुरालाई सरकारले समिक्षा गर्न आवश्यक छ । यदि सरकारले राम्रो काम गरेको छ भने प्रेस जगले त्यसलाई गलत भन्न मिल्दैन र भनेपनि जनताले पत्याउने अवस्था हुँदैन । सरकारका कामप्रति आम जनमानसमा समेत चरम निराशा छाइरहेका बेला प्रेसले त्यही कुरालाई प्रतिविम्बका रुपमा प्रस्तुत गर्ने हो । त्यसैले सरकार अनावश्यक रुपमा प्रेसप्रति सशंकित हुनुपर्ने अवस्था देखिदैन । प्रेसको काम भनेको सरकारले लिक छोड्न खोज्दा त्यसमा खबरदारी गर्ने हो । तर सरकारका गतिविधिले भने प्रेसप्रति उदार भन्दा पनि कठोर नीति अवलम्बन गरेको पुष्टि हुन्छ । प्रेस स्वतन्त्रताको अभावमा प्रजातन्त्र र देश कहिले पनि शक्तिशाली हुँदैन । प्रजातन्त्र र देशको रक्षाका लागि राजनीतिक दलसँगै लडेको प्रेस जगतमाथिको कठोरताले सरकार अधिनायकवादतर्फ अघी बढ्न खोजेको संकेत गर्छ । त्यसैले सरकारले विगतमा प्रेसको भूमिकालाई अवमूल्यन नगरी स्वतन्त्र प्रेसको सुनिश्चत गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यसमा नै सरकार र राजनीतिक दलको पनि हित अन्तरनिहित छ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here