अर्बपति चौधरीको नेपालीलाई लुट्ने अर्को तरिका

299

काठमाडौं / राजश्व छलिमा र कीर्ते बिमा दाबीमा कुख्याति कमाएका नेपालका अर्बपति विनोद चौधरीले नेपाली जनतालाई लुट्ने अर्को नयाँ तरिका अपनाएका छन् । चौधरीले नेपालमा विद्युतीय सामानहरुको पार्ट्स विदेशबाट आयात गरेर नेपालमा फिटिङ गरी नेपालमै निर्मित भनेर बिक्री गर्ने गरेको गुनासो पहिलेदेखि नै चर्चित छ । सरकारी निकायले ध्यान नदिएकै कारण पछिल्लो समयमा नेपाली बजारमा गुणस्तरहीन नक्कली विद्युतीय वस्तुहरुको बिक्रीमा चौधरी मात्र नभएर अरु पनि सक्रिय भइरहेका पाइन्छन् । चौधरी ग्रूपका नाममा विनोद चौधरीले सञ्चालन गरेका विभिन्न व्यवसायहरु विवादास्पद देखिएका छन् । विदेशबाट नेपालमा टेलिभिजन सेट आयात कार्यलाई बन्देज लगाउन माग गर्दै उनले नेपाली कांग्रेसको आडमा अर्थ मन्त्रालयलाई दबाब दिइरहेको खुलासा भएको छ । उनले अर्थमन्त्रालयलाई यस्तो आशयको पत्रचार गरेको सञ्चार माध्यमहरुमा आइसकेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुले हालसम्म ३२ इन्चको टेलिभिजन ल्याउँदा कुनै किसिमको कर तिर्नु नपर्ने व्यवस्था रहेको छ । यो व्यवस्थाबाट वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुले थोरै मात्रामा भए पनि आर्थिक सहुलियत राज्यबाट पाइरहेका छन् । नेपाली युवाहरुलाई यो सामान्य आर्थिक सहुलियतबाट समेत बञ्चित गराउन अर्बपति चौधरीले राजनीतिक आवरणमा अर्थमन्त्रालयमाथि दबाब सृजना गरिरहेका छन् । उनको यो दबाबलाई अर्थमन्त्रालयले स्वीकार गरिहाल्यो भनेपनि आश्चर्य हुने छैन । अर्थमन्त्रालयकै गलत नीतिका कारणबाट विदेशबाट फर्किने नेपाली युवाहरुले ल्याएका सामानहरु अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार विभागले जफत गर्ने गरेका घटनाहरुबाट यो सम्भावनालाई नकार्न सकिन्न । विदेशबाट टेलिभिजन ल्याउन पाउने प्रावधानलाई आगामी आर्थिक वर्षको बजेटमार्फत हटाउन अर्बपति चौधरीेले चौधरी ग्रूपको लेटरप्याडमै अर्थमन्त्रालयलाई पत्रचार गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालमा कुनै पनि टेलिभिजन उत्पादन नभइरहेको अवस्थामा अर्बपति चौधरीले आम उपभोक्तालाई झुक्याउँदै आएका छन् । उनले पार्टपुर्जा जोड्दै नेपाली उत्पादन भन्दै नेपाली उपभोग्तालाई ठग्दै आएका छन् । चौधरीले नेपालमा सीजी इलोक्ट्रोनिक्स कम्पनीको नाम दिएर चीनमा उत्पादन भएका टेलिभिजन सेट बिक्री गर्दै आएको खुलेको छ । टेलिभिजन सेटको बिक्रीमा भारी गिरावट आएपछि आफ्नो नोक्सानी हुनबाट जोगाउन आगामी आर्थिक वर्षका लागि आउने आर्थिक विधेयकमार्फत वैदेशिक रोजगारीमा जानेले ल्याउन पाउने सामानमा टेलिभिजनको व्यवस्था हटाउनुपर्ने माग राखेको बुझिएको छ ।

चौधरीले अर्थ मन्त्रालयमा पठाएको पत्रमा नेपालमा नै उत्पादन हुने टेलिभिजन तथा अन्य घरायसी रुपमा प्रयोग हुने वस्तुहरुलाई करछुट हुने ‘ड्यूटी फ्रि’ पसल राख्नुपर्ने र सो पसलमार्फत सामान खरिद गराउनुपर्ने उल्लेख गरेका छन् । चौधरी ग्रूप अन्तर्गत अर्बपति चौधरीले एलजी र सीजी ब्राण्डको स्टिकर टाँसेर टेलिभिजन सेट बिक्री गरिरहेका छन् । यी दुवै ब्राण्ड चीनमा उत्पादन भएको स्रोतले जनाएको छ ।

स्मरणीय छ अर्बपति चौधरीले सिजी इलेक्ट्रोनिक्समा आगलागि भएको भन्दै केही वर्ष पहिले बढि बिमा रकम दाबी गरेर आफ्नै स्वामित्वको बिमा कम्पनीबाट भुक्तानी लिएका थिए । सो सम्बन्धमा उच्च अदालत पाटनले गत वर्ष अर्बपति चौधरीको स्वामित्वको कम्पनीबाट बिमा ठगी भएको भनी ठगी भएको बिमा फिर्ता गराउन आदेश भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here