एजेन्सी / अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक फेला परेका छन् । गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा मार्दा सो हात–हतियार भेटिएका थिए । अमेरिकाका दुई सुरक्षा एजेन्सीले संयुक्त रुपमा छापा मार्ने क्रममा भेटाएका थिए । सर्च अपरेसनमा अमेरिकाको ‘ब्युरो अफ अल्कोहल, टोबाको, फायरआर्म एण्ड एक्स्प्लोसिभ्स’ र लस एन्जेल्स प्रहरी विभाग संलग्न थिए । घटनास्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउबारे प्रहरीले थप जानकारी बाहिर ल्याएको छैन । घटनास्थलको हवाई फुटेजमा सडकमा ओछ्याइएको त्रिपालमा सयौं बन्दुक राखिएको देखिन्छ । त्यहाँ ह्याण्डगनदेखि राइफलसम्म छन् । सन् २०१५ मा लस एन्जल्स प्रहरी विभागले १२ सय बन्दुक, सात टन विस्फोटक पदार्थ र २ लाख ३० हजार अमेरिकी डलर बरामद गरेको थियो । प्रहरी पुग्दा घरधनी भने मृत पाइएका थिए । त्यसबेला लस एन्जल्स प्रहरी विभागले त्यसलाई एक घरबाट बरामद भएको सबैभन्दा ठूलो मात्राको हतियार बताएको थियो ।