बेलायतमा अनौठो प्रकृतिको दुर्लभ घटना घटेको छ । घरपालुवा पोथी कुकुरले एकै पटक १६ वटा छाउरा जन्माएको छ । बेलायती सेनाका एकजना जवानले आफ्नो घरमा पालेको कुकुरले यतिधेरै बच्चा पाएपछि ती कुकुर मालिकलाई निकै समस्या परेको छ ।
सैनिक जवान मार्क मार्शलले सेनाको ब्यारेकभित्रै आफ्नो चार बेडरुम भएको घरमा पालेको रोक्सी नामको कुकुरले बढिमा ६ वटासम्म छाउरा जन्माउला भन्ने आशा थियो उनको । रोक्सीको पेट भेटेरेनरी अस्पतालमा परीक्षण गराउँदा पनि ६ वटा बच्चा भएको बताइएको थियो । तर उनको कुकुरले अस्पताललाई फेल खुवाउँदै १६ वटा बच्चा जन्माएपछि सबै तीनछक परे ।
५ जना छोराछोरी र श्रीमती सहितको ठूलो परिवार भएका मार्शलको कुकुरले यतिधेरै सन्तान पाएपछि उनलाई कुकुर राख्ने ठाउँका अभाव भएको छ । तर यति हुँदाहुँदै पनि उनले सबै छाउराहरुलाई राम्रो स्तरको खानेकुरा र स्याहारसुसार दिएर हुर्काइरहेका छन् । आमा कुकुरका लागि बच्चालाई दुध चुसाउने र आराम गर्ने समय छुट्टाइदिएका छन् । आमाको दुध नपुग्ला भनेर छाउराहरुका लागि बजारको दुध समेत खुवाउने गरिएको छ ।

















