नेपालको राजनीतिमा वैकल्पिक शक्तिको अभाव

302

-निमकान्त पाण्डे

 

ठूलो आँधी आउनु भन्दा पहिलेको सन्नाटा जस्तै राजनीतिमा छट्पटाहटपूर्ण अवस्था देखिएको छ ।

नेपालको राजनीतिमा दुईतिहाई बहुमतको नजिक पुगेको वाम सरकार निर्माण पछि देशमा व्यापक उत्साह देखिएको थियो । जनताले ठूलो आशा गरेका थिए । परन्तु वाम सरकारको कार्यशैली जनपक्षीय नभएर अत्यन्त जनविरोधी हुनुका साथै राष्ट्रघाती समेत भइरहेका परिदृश्यहरुले छोटो अवधिमै जनतामा निराशा बढाएको छ भने सरकारको विकल्प सडकबाट खोज्न थालिएको छ । जनतामा अन्योलता छाएको छ, मौनता छाएको छ । ठूलो आँधी आउनु भन्दा पहिलेको सन्नाटा जस्तै राजनीतिमा छट्पटाहटपूर्ण अवस्था देखिएको छ । यस्तो अवस्था देखिनु भनेको विष्फोटनको संकेत मान्न सकिन्छ ।

नेपालमा राजनीतिक स्वतन्त्रताको इतिहास धेरै पुरानो छैन । राजनीतिक दलहरु संगठित भएर राजनीतिक अभ्यास सुरु भएकोे करिव सात दशक मात्र पुगेको छ । तर यस अवधिमा नेपालमा राजनीतिक दलहरुको संख्या भने अत्यधिक नै देखियो । विशेष गरी २०४६ को आन्दोलनपछि प्रजातन्त्रको पुनस्र्थापनाले दलीय स्वतन्त्रतालाई खुला गरिदिएपछि दलहरु दर्ता गर्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । त्यसपछि नेपालको राजनीतिमा नयाँ अध्यायकै प्रारम्भ भयो भन्न सकिन्छ । ०४७ पछि नेपालमा राजनीतिक दलहरु स्थापना हुने प्रक्रियाले व्यापकता लियो । २०६२/०६३ पछि त व्यक्ति पिच्छे दल गठनको प्रक्रिया नै सुरु भयो । भएका दलहरुमा टुटफुट तथा नयाँ दल स्थापनाको लहर नै चल्यो । नेपालमा सय भन्दा बढी दल निर्वाचन आयोगमा दर्ता हुन पुगे । अस्थिर राजनीति र अस्थिर सरकार भएको अवस्थामा एउटा व्यक्ति सांसद भएको दलबाट समेत मन्त्री हुने अवस्था सिर्जना भएकाले त्यतिबेला दल दर्ताको लहर नै चलिरह्यो ।

जतिबेला नयाँ राजनीतिक दलको उदय हुन्छ, त्यतिबेला उक्त दलको लक्ष्य वैकल्पिक राजनीतिक शक्ति बन्नु नै हुन्छ ।  

पछिल्लो पटक राष्ट्रिय दल बन्नका लागि निश्चित मापदण्डको व्यवस्था भएसँगै सयौँको संख्यामा रहेका दलहरु विस्तारै एक अर्कामा गाभिने र अस्तित्व मेटिने अवस्थामा पुगेका छन् । त्यससँगै नयाँ राजनीतिक शक्तिका रुपमा आफूलाई स्थापित गर्ने प्रयास पनि जारी छ । त्यसको पछिल्लो उदाहरण हो– डा.बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकीकरणबाट बनेको समाजवादी पार्टी । एउटा नयाँ आशा सहित स्थापना भएको उक्त पार्टीले विकल्प दिन सक्छ या सक्दैन भन्ने कुरा उसको आगामी कार्यदिशा र कार्यभारले नै पुष्टि गर्ने छ । दुवैजना सहित अन्य धेरै नेताहरु त्यस पार्टीमा पनि वामपन्थी पृष्ठभूमिबाटै आएका व्यक्तिहरु छन् । जतिबेला नयाँ राजनीतिक दलको उदय हुन्छ, त्यतिबेला उक्त दलको लक्ष्य वैकल्पिक राजनीतिक शक्ति बन्नु नै हुन्छ ।

राणा शासनको अन्त्यतिर नेपाली कांग्रेसको उदय पनि वैकल्पिक शक्तिकै रुपमा भएको थियो । पुरानो जहानियाँ शासकीय व्यवस्थालाई अन्त्य गरेर जनतालाई अधिकार प्रत्यायोजनका लागि त्यतिबेला नेपाली कांग्रेसको स्थापना भएको थियो । खुल्ला राजनीतिक अभ्यासको चरण सुरु भएसँगै नेपाल कम्युनिस्ट पार्टीको पनि स्थापना भइसकेको थियो । परन्तु नेपाल कम्युनिष्ट पार्टीभित्र छिट्टै नै विभाजनका सृंखलाहरु निकै डरलाग्दो किसिमबाट विकसित हुँदै गए । राष्ट्रियतालाई नै खतरा हुने किसिमका गतिविधिहरु राजनीतिक दलहरुबाट हुन थालेको र त्यस्ता काममा विभिन्न समूहहरु अस्तित्वमा देखा पर्न थाले । यसैबीच राजसंस्थाले राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगायो । त्यसपछि पनि कम्युनिष्ट पार्टीमा विभाजन रोकिएन । भूमिगत रुपमै तीस वर्षसम्म नेपाली कांग्रेस र विभिन्न नामका कम्युनिष्ट पार्टीहरुको सक्रियता राजनीतिक स्वतन्त्रताकै निम्ति भइरह्यो । अन्ततः २०४६ मा नेपाली कांग्रेस र विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुको एउटै मोर्चा बनाएर संयुक्त आन्दोलन घोषणा भइ सोही आन्दोलनको धक्काबाट राजनीतिक स्वतन्त्रता प्राप्त भएको हो । यो स्वतन्त्रता प्राप्तिमा नेपाली प्रेस जगतको पनि निकै महत्वपूर्ण भूमिका रहेको छ ।

विडम्बना ! अहिलेसम्म पनि वैकल्पिक शक्तिका रुपमा आफूलाई पुष्टि गर्ने क्षमता कुनै पनि राजनीतिक दलमा देखिएको छैन ।

राजनीतिक स्वतन्त्रता प्राप्ति पछि नेपाली कांग्रेसबाट मात्र मुलुकको राजनीति अगाडि बढ्न सक्दैन भन्ने दाबीसहित वैकल्पिक शक्तिकै रुपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)कोे उदय भयो । यी दुवै शक्तिलाई चुनौति दिँदै कांग्रेस र एमालेबाट राजनीति सही ढंगले अघी बढ्न सक्दैन भन्दै शसस्त्र युद्धको उद्घोष गरी नेकपा (माओवादी)को उदय भयो । पछि क्षेत्रीय दलका रुपमा मधेशवादी दलहरु स्थापना भए, कतिसम्म भने राजनीतिक दलको उदयले व्यापक रुप धारण गर्दै गर्दा राष्ट्रिय मात्र नभएर क्षेत्रीय, जातीय, साम्प्रदायिक र धार्मीक दलहरुसमेत निर्वाचन आयोगमा दर्ता हुन पुगे । ती सबै दलको दाबी वैकल्पिक शक्ति बन्नु नै रह्यो । यो क्रम डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल तथा पत्रकार रविन्द्र मिश्रको नेतृत्वमा विवेकशील साझा पार्टीसम्म जारी रह्यो । तर विडम्बना ! अहिलेसम्म पनि वैकल्पिक शक्तिका रुपमा आफूलाई पुष्टि गर्ने क्षमता कुनै पनि राजनीतिक दलमा देखिएको छैन ।

राजनीतिमा वैकल्पिक शक्तिको चाहना राख्ने दलहरुले जनताबाट विश्वास प्राप्त गर्न पनि निकै कठिन हुने देखिएको छ । 

वैकल्पिक शक्तिका रुपमा उदाएका कतिपय राजनीतिक शक्तिले जनताको मत समेत प्राप्त गर्न सफल पनि भएका छन् । तर जब सत्तामा पुगे उनीहरुको राजनीतिक चरित्र परम्परागत राजनीतिक शैली भन्दा झनै कमजोर देखिदै आएको छ । जसको उदाहरण तत्कालीन नेकपा माओवादी हो । माओवादीको मूल नेतृत्व आफ्नो राजनीतिक आन्दोलनको इतिहासलाई नै समाप्त गरेर पूर्ण रुपमा संसदवादी दलसंग एकीकृत हुन पुग्यो । यो अवस्थाले सशस्त्र युद्धबाट आएको पार्टीका नेताहरु व्यक्तिपिच्छे नयाँ पार्टी निर्माण अभियानमा लागेका छन् । दश वर्षको सशस्त्र युद्धलाई समेत राजनीतिको वैकल्पिक शक्ति ठानेर मृत्युवरण गर्न लामबद्ध भएका नेपाली युवाहरु ठूलो संख्यामा रोजगारीका लागि विदेशतिर पलायन भएका छन् । ग्रामीण परिवेश अत्यन्त निराशाजनक अवस्थाबाट गुज्रिरहेको स्थिति छ । जनताले राजनीतिक दलहरुलाई विश्वास गर्ने अवस्था समाप्त हुँदै गएको छ । राजनीतिमा वैकल्पिक शक्तिको चाहना राख्ने दलहरुले जनताबाट विश्वास प्राप्त गर्न पनि निकै कठिन हुने देखिएको छ ।

हाल सत्तामा रहेको डबल नेकपाले पनि आफूलाई वैकल्पिक शक्तिका रुपमा स्थापना गर्छ कि भन्ने एउटा झिनो आशा देखिएको थियो । दुईतिहाई बहुमतको नजिकै पुगेर सत्ताको नेतृत्वमा पुगेपछि उक्त दलमा पनि परम्परागत शासकीय शैली भन्दा कुनै भिन्नता देखिएन । बरु नवसामन्त बन्ने पथमा डबल नेकपाको नेतृत्व अघी बढिरहेको देख्न सकिन्छ । कम्युनिष्ट आवरणको पार्टीका नेताहरुबाट सरकार संचालन भइरहेको वर्तमान अवस्थामा जनतामा झन् निराशा र आक्रोश बढिरहेको छ । यही सेरोफेरोमा उदाएको नयाँ दल समाजवादी पार्टीले आफूलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउने उद्घोष गरेको छ । वामपन्थी पृष्ठभूमि हुँदै क्षेत्रिय र जातीय राजनीतिक नारालाई प्राथमिकतामा राखेर सक्रिय रहँदै आएका नेताहरु सम्मिलित यस पार्टीले रोजेको समाजवादी गन्तव्य कस्तो हुने हो ? यो अहिले नै निष्कर्ष दिन सकिने अवस्था छैन ।

हुनत वैकल्पिक शक्तिकै अभ्यासको सूचीमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि क्रियाशील छ । सरकारको प्रतिबन्धका बाबजुद भूमिगत राजनीति गरिरहेको उक्त दल हालसम्म सत्ताको राजनीतिमा संलग्न नभएकाले केही आशा अवश्य पनि गर्न सकिन्छ । तथापि सत्ता सञ्चालनमा पुगेपछि आफूलाई उग्र क्रान्तिकारी ठान्नेहरुको चरित्रमा समेत समस्या देखिएकाले जनताले कसलाई विश्वास गर्ने भन्ने कुरा अहिले पनि संकटकै अवस्थामा छ ।

वैकल्पिक शक्ति अझैपनि जनताको रोजाइमा देखिएको छ । 

राजनीतिक परिवर्तनका लागि नेपाली जनताले ठूलो बलिदानी गरेका छन् । १७ हजार जनताको रगत बगिसकेको छ । लाखौं जनता हिंसात्मक युद्धको प्रभावबाट अझै पनि पीडित छन् । तरपनि राजनीतिक परिवर्तनले जनताको जीवनस्तरलाई सकारात्मक परिणाम दिन सकेन । यसले गर्दा जनतामा राजनीतिक दलहरुप्रतिको विश्वास घटदै गएको छ ।  वैकल्पिक शक्ति एकाहरुबाट समेत सन्तोषजनक काम हुन नसक्नुले नेपालमा वैकल्पिक शक्तिको आवश्यकता अझैपनि महसुस भइरहेको छ ।  यो रिक्तता पुरा हुन नसक्दा जनतामा निराशा बढाएको देखिन्छ । राजतन्त्रबाट विरक्तिएर जनताले नेपाली कांग्रेसलाई सत्तामा पु¥याए, कांग्रेसले देशलाई झनै कंगाल बनाउने अवस्था देखिएपछि जनताको रोजाइमा नेपाल कम्युनिष्ट पार्टी बन्न पुग्यो । परन्तु कम्युनिष्ट आवरणमा सामाजिक फाँसीवादी चरित्रको अभ्यास गर्दै पूर्ण रुपमा राष्ट्रिय समर्पणवादतर्फ सरकारको गन्तव्य देखिएको छ । त्यसैले गर्दा वैकल्पिक शक्ति अझैपनि जनताको रोजाइमा देखिएको छ । यो भ्याकुम पुरा गर्न संसदवादी कित्ताबाट समाजवादी दल सफल हुने हो वा विप्लव नेतृत्वको नेकपाले सबैलाई उछिन्दै सशस्त्र युद्धबाटै सत्ता कब्जा गर्न पुग्ने हो ? समयको प्रतिक्षा गर्नैपर्ने देखिन्छ ।  – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here