जनकपुरधाम- प्रदेश नम्बर २ को सरकारले प्रमुख सचिवसम्मका कर्मचारी आफैं पदपूर्ति गर्ने गरी प्रदेश निजामती सेवा गठनको तयारी अघि बढाएको छ । गत वैशाख ३१ गते (मंगलवार) प्रदेश निजामती सेवासम्बन्धी विधेयक मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा दर्ता गराएका छन् ।
सहायक तेस्रो तहदेखि बाह्रौं तहका अधिकृतसम्मको पदपूर्ति प्रदेश सरकारले गर्नेगरी कानून बनाउन लागिएको हो । सरकारले बाह्रौं तहको अधिकृतलाई प्रदेशप्रदेश प्रमुख सचिव तोकिएको छ ।
सबैभन्दा तल्लो तहको रूपमा रहने सहायक तेस्रो तहमा शत प्रतिशत र नवौं तहमा २० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाका आधारमा गरिने छ । दशौं, एघारौं र बाह्रौं तहमा भने खुला प्रतिस्पर्धाबाट कर्मचारी लिइने छैन ।
संघीय सरकारले समायोजन गरेर कर्मचारी सीमित संख्यामा मात्र पठाएको र ५ हजारभन्दा बढी कर्मचारी आवश्यक रहेकाले प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगमार्फत प्रदेश निजामती सेवाका लागि आवश्यक कर्मचारीहरू आफैं भर्ना गर्ने तयारीका साथ विधेयक दर्ता गराएको हो ।
मुख्यमन्त्री राउतले भने, ‘प्रदेश निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउँदै प्रदेश निजामती प्रशासनलाई अझ बढी व्यावसायिक, मर्यादित र प्रभावकारी बनाउने प्रयोजनका लागि प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गर्न बान्छनीय भएकाले विधेयक तर्जुमा गरेर प्रदेश सभामा पेश गर्नुपरेको हो।’
















