काठमाडौं / तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको १७ औं संस्करणमा एक सय ५५ विदेशीसहित दुई सयभन्दा बढी धावकले सहभागिता जनाउने भएको छ । प्रथम पटक सगरमाथा आरोहण भएको दिन पारेर प्रत्येक वर्ष एभरेस्ट म्याराथन आयोजना हुँदै आएको छ। प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा मे २९ का दिन म्याराथन आयोजना गरिन्छ।
म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चे बजारमा पुगेर सम्पन्न हुन्छ। काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा म्याराथनका परिकल्पनाकार विक्रम पाँडेले सहभागी धावकले तीन स्पर्धामा फुल म्याराथन (४२.१९५ किलोमिटर), एभरेस्ट एक्स्मट्रिम अल्ट्रा (६० किलोमिटर० र हाफ म्याराथन (२१ किलोमिटर) मा प्रतिस्पर्धा गर्ने जानकारी दिए।
म्याराथनमा सहभागी विदेशी धावकमध्ये ५९ जना महिला छन्। यसपटक एभरेस्ट म्याराथनमा विश्वका ३० देशका धावकको सहभागिता हुने जनाइएको छ । बेलायतका २२ वर्षीय क्रिस्टोफ ज्याक्सन सबैभन्दा कान्छा र क्यानडाका ६७ वर्षीय लिओनार्ड स्टानमोर सबैभन्दा बढी उमेरका धावक हुन् । म्याराथन आयोजक हिमालय एक्सपिडिसन्सका अभिषेक पाँडेले धावकहरू बिहीबार नै सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्ने भएको छ ।
‘म्याराथन उच्च हिमाली क्षेत्रमा आयोजना हुने भएकाले सहभागी धावकहरूलाई १० दिनको पदयात्रा गराएर सगरमाथा आधार शिविर पुर्याइने छ। साथै चिकित्सकको समूह पनि धावकहरूसँगै हुने छ’, पाँडेले भने। फुल म्याराथनतर्फ खुला स्पर्धामा शीर्ष तीन स्थानमा रहने धावकले क्रमशः दुई लाख, एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।
यसैगरी महिला स्पर्धाका उत्कृष्ट तीन धावकले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। विदेशी धावकको पुरस्कार राशि क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ छ। एभरेस्ट एक्स्मट्रिम अल्ट्राका उत्कृष्ट तीन धावकले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ हात पार्ने छन्। हाफ म्याराथनका उत्कृष्ट तीन धावकले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।


















