काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागेको छ।
महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको जनाए ।
‘दुइपांग्रे सवारीमा चढ्ने दुवैजानाले हेल्मेट लगाउनु पर्ने यातायात व्यवस्था ऐनमा उल्लेख गरेका छौ। यातायात व्यवस्था ऐन २-३ महिनामा स्वीकृत हुन्छ र करिव ६ महिनामा यो कार्यान्वयनमा आउछ,’ पन्तले भने।
हेल्मेट पनि साधारण नभई आइएसओ स्ट्याण्डर्डको हुने पन्तले जानकारी दिए।
‘नेपाल गुणस्तर तथा नापतौल विभागले हेल्मेटको मापदण्ड तयार पारिसकेको छ। हामी त्यही अनुसार अगाडि बढ्छौ,’ उनले भने।
विभागले बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा उल्लेख गरेको छ।
















