एजेन्सी / युरोपेली राष्ट्र पोल्याण्डका एक महिलाले एकै पटक ६ जना बच्चा जन्माउनका छन् । हालै मात्र भएको उक्त घटनाका कारण त्यहाँका राष्ट्रपतिले समेत बधाई दिएका छन् ।
पोल्याण्डमा कुनै महिलाले एकसाथ ६ बच्चा जन्माएको यो पहिलो घटना हो । उत्तरी पोल्याण्डको एक अस्पतालमा उनले बच्चा जन्माएकी हुन् । जन्मिएका ६ बच्चा मध्ये ४ जना छोरी र २ जना छोरा छन् । क्राकाओस्थित विश्वविद्यालय अस्पतालका प्रवक्ता मारिया भ्लोद्कोव्सकाका अनुसार गर्भको २९ औँ हप्तामै बच्चा जन्मिएका हुन् । बच्चाहरुको तौल ८९० ग्रामदेखि १।३ किलो सम्म रहेको छ । आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको छ । तर समय नपुगी बच्चा जन्मिएको हुनाले ती बच्चाहरुलाई इन्कुबेटरमा राखिनेछ ।
अस्पतालका डाक्टरहरुले ती महिलाले ५ वटा बच्चा जन्माउने अनुमान गरेका थिए । तर ती महिलाले त ६ बच्चा जन्माइदिइन् ।पोल्याण्डका राष्ट्रपति आन्द्रजेज दूदाले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा आमा र बच्चाका साथै अस्पतालका डाक्टरहरुलाई पनि बधाई दिएका छन् ।

















