आज म धेरै बोल्ने पक्षमा छैन – सञ्‍चारमन्त्री बास्कोटा

238

काठमाडौं- सरकारका प्रवक्ता गोकुल बास्कोटाले आफूले बोल्दा आलोचना हुने गरेको पनि टिप्पणी गरेका छन् । उनले भने, ‘मैले त बोल्यो कि अफ्ठेरो परिहाल्छ । त्यसैले आज म धेरै बोल्ने पक्षमा छैन।’

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले मिडिया काउन्सिल विधेयक कुनै हालतमा फिर्ता नहुने जनाएका हुन्। पत्रकार सम्मेलनमै सत्तारुढ दल नेकपानिकट प्रेस संगठनको ज्ञापनपत्र बुझेपछि मन्त्री बास्कोटाले प्रेसको घाँटी निमोठ्ने पक्षमा सरकार नरहेको पनि प्रष्ट पारेका छन्।

‘नेपालमा अभिव्यक्ति स्वतन्त्रतासहितको पूर्ण प्रेस स्वतन्त्रता छ । सरकारले प्रेसलाई कम्जोर बनाउने, घाँटी निमोठ्ने र संकुचित गराउने कानुन बनाउन सक्दैन भनेका छौँ, यसमा हामी प्रतिवद्ध छौँ’, उनले भने, ‘लेख्न पाउने सिद्धान्तलाई मजबुत बनाउन लागेका छौँ। तर फेक न्युज, पेड न्यूज र नाफाका लागि लेखिने न्यूजलाई भने बन्द गर्नैपर्छ।’

नेपाली पत्रकारिता क्षेत्रले गालीगलौजमा मात्रै जान नहुने जनाउँदै बास्कोटाले सरकारले दमन गर्न खोज्यो भन्‍ने कुरा पति सत्य नभएको जनाए । ‘हाम्रा देशविरुद्ध, हाम्रा नागरिकविरद्ध र हाम्रो शान्तिविरुद्ध हामी जान मिल्दैन। मिडिया काउन्सिल विधेयकलाई राजनीतिक इस्यू बनाउन खोज्नेसँग हामी सहमत छैनौँ ।’

मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकमा विश्वमा प्रचलित नियम अनुसार नै दण्ड जरिवाना तोकिएको पनि जिकिर गरे । सञ्चारजगतलाई सरकारको भजन गाउनु कहिले नभनेको पनि उनले स्पष्टिकरण दिए।

मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विरोधका नाममा राजनीति गरेको आरोप पनि लगाए। उनले मिडिया काउन्सिल विधेयकको विरोधका नाममा कांग्रेसले राजनीति गरेको जिकिर गरेका छन् । ‘कसैको जागरण अभियानमा प्रेस स्वतन्त्रताको आन्दोलन जोड्नु भएनु, कांग्रेसतर्फ लक्षित गर्दै उनले भने,’यो विधेयक फिर्ता हुन सक्दैन, आफ्नै प्रक्रियाबाट यो अगाडि बढ्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here